कृतज्ञता : साथप्रति को रोमान्चित स्मरण

संचारकर्मी विजय कुमार पाण्डे द्वारा लिखित आत्मा वृतान्त "खुशी" मा लेखिएको ती वाक्य, " जुन कुरा बोल्न सकिंदैन , त्यो लेखको रुपमा प्रस्तुत हुन्छ |" त्यस्तै गरि सोरेन किर्कगार्डको भनाई उदृत गर्दै लेखेका छन्, "मानिसहरु बिचारको स्वतन्त्रता हाँसिल नगरिकनै वाक स्वतन्त्रताको माग गर्छन् |" मलला युसुफजाइको त्यो भनाई - "आफ्नो लडाई लड्न आफैनै सक्षम हुनु पर्दछ |" मेरो लेखन क्षमताको उदासिपनको क्षणमा आफुलाई कुण्ठित हुन बाट जोगाउन मलाई , मैले अध्ययन गरेको खुराकबाट प्राप्त भएको ज्ञानले कहिले निराशा हुन् दिएन | मेरो "ब्रेक" अवधिमा आफुलाई वैचारिक रुपमा स्वतन्त्र राख्न अझ मजबुत बनायो | आफ्नो लडाई आफैले लड्न प्रेरित गर्यो र ति तमाम मेरो लेख, जुन सम - सामयिक घटनाहरु प्रति मेरो प्रतिकार थियो त्यो त्यहि बोल्न नसकिएका कुरा लेखन शैलीबाट अझ बढी सशक्त ढंग बाट प्रस्तुत भएका हुन् | आफ्नो मनमा रहेको कुण्ठालाई सिर्जनात्मक ढंगबाट प्रस्तुत गरिएको दरिलो उदाहरण हो | म यसरीनै बिश्वस्थ भएँ र लेखन क्षमताको उदासिपन बाट बाहिर आएँ |  

"One Person Can Make A Change- OPCMC" का अभियन्ता सम्झना शाक्य दिदीको त्यो प्रेरणादायी भनाई - "If you write, you will be a writer but if you wait, you will be a waiter" यो भनाई मेरो लागि संधै ब्रम्हाश्त्र को रुपमा काम गरि रह्यो | भर्खरै मात्र अष्ट्रेलियाबाट विद्यावारिधि गर्नु भएकी निति अर्याल म्याडम जसले पाटन क्याम्पसमा पढ्दा को समयमा लेखन कार्यलाई जोड़ दिंदै भन्नु हुन्थियो - " सुरु सुरुमा रचनात्मक लेख बाटनै जर्नल समेत लेख्न सक्ने क्षमताको विकास हुन्छ | यसलाई निरन्तरता दिईराख्नु |" मलाई "समाजशास्त्र तथा मानवशास्त्र" को ज्ञान दिनु हुने मोहन कुमार तामाङ्ग सर , हामी  "तामाङ्ग सर" भन्ने गर्छौं वहाँलाई, जसले मेरो सोच्ने शक्ति चुनौतीको सामना गर्ने क्षमता र व्यक्तित्व विकासको लागि ठुलो भूमिका खेल्नु भएको छ | वहाँ भन्ने गर्नु हुन्थियो - "लेख्ने कार्य भनेको जस्तो पनि गर्नु पर्छ | दैनिकी भए पनि लेख्ने गर्नु पर्छ | के थाहा एक दिन त्यसैले जीवनमा गरीखाने बाटो पो दिन्छ कि !" यस्तै यस्तै प्रेरणादायी व्यक्तित्वहरुको छात्र छाँयाले मेरो लेख्ने सक्ने क्षमतालाई दरिलो खम्बाको रुपमा काम गरि रह्यो | 

भन्नलाई त् "सङ्गत गुणाको फल" भनिन्छ , यसमा कतिको वास्तविकता छ त्यो कुरा त् थाहा भएन तर मेरो जीवनमा भने फलदायी नै रह्यो | मेरो साथी सङ्गतमा पनि केहि न केहि विषयमा आफ्नो विचारहरु लेखन  माध्यमबाट प्रस्तुत गरी रहने , बिभिन्न संचार माध्यममा लेखहरु छापी रहने हुनाले मलाई पनि त्यस्तै इर्ष्याले डोहोर्याई रह्यो | मेरो लेखन क्षमता माथि इट्टा र सिमेन्ट थपिइ रह्यो | यस्तै यस्तै कुराले मलाई बाध्य बनाई रह्यो, प्रशंसा र सुधार गर्न देखिने बाटोको टिप्पणी सहितको प्रतिक्रियाहरु प्राप्त गरिरहें | यसरी मेरो जीवनमा प्रेरणाको श्रोतको रुपमा काम गरिदिनु भएका मेरा अग्रज, समकालीन मित्र, प्रतिक्रिया दिने मित्रहरु प्रति हार्दिक नमन |

मेरो अध्ययन गर्ने, लेख्ने क्षमता माथि ह्रास आउँदाको क्षणमा  मेरो क्षमता अभिवृतिको लागि, मेरो आफ्नो क्षमतालाई फरक ढङ्गबाट सोच्नको लागि, मेरो आफ्नो प्रस्तुत हुने शैली अरु भन्दा भिन्न छ भनेर मनोबैज्ञानिक रुपमा परामर्श दिनु हुने "हेलेना बस्नेत" दिदी प्रति  आभार व्यक्त गर्न चाहन्छु | मेरो लेख्ने क्षमतालाई मध्य नजर गर्दै , लेख्ने शैलीलाई अझ बढी प्रभावकारी स्थान दिनको लागि स्तम्भकारको रुपमा सुचित गरिदिनु हुने मेरो मित्र संचारकर्मी मदन थुलुंग राई प्रति एकदम कृतज्ञ छु | जसले मेरो लेखन क्षमता माथि दरिलो बिश्वासको खम्बा उठाई दियो | मेरो लेखको व्याकरण, शुद्ध अशुद्ध पहिल्याई दिनु हुने मेरो सहकर्मी कृष्ण नेपाल सर प्रति पनि आभारी छु |

र्यापर गिरिश खतिवडा को त्यो सांगीतिक भनाई "तिमि, तिमि भए पुग्छ | तिमि अरु कोहि बन्नु पर्दैन बस तिमि भएर जिउनु |" त्यस्तै अर्को सांगीतिक प्रस्तुति " जित्न सके डरलाई, यो संसार तिम्रो नै जित हो | त्यागी देउ तिम्रा डरलाई, गर बिश्वास आफैलाई |" समृद्धि राईको यो प्रस्तुतिले आफु भएर जिउने कलालाई उजागर गर्दछ | यस्तै यस्तै कुराले मलाई आफ्नो लेखन कलाबाट अपरिचित भएर बसेको उदासिपनामा ओखतीको काम गरिरह्यो | लेखक सुविन भट्टराईको उपन्यास "प्रिय सुफी" जसमा आफ्नो मनको कुण्ठा, रिस र बेदनालाई कसरी रचनात्मक दङ्ग बाट प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको ज्ञान बाट प्रेरित भएको म , त्यो पुस्तक पढ्न सुझाव र पुस्तक उपलब्ध गराइदिनु हुने मित्र पविता लिम्बु ज्यू लाई पनि धन्यवाद दिन चाहन्छु |

आज म बिश्वासका साथ भन्न सक्छु , मेरो त्यो लेखन शैली, मनको कुण्ठा प्रस्तुत गर्ने एउटा कलात्मक प्रस्तुति हो | मेरो अध्ययन गर्ने बानी मलाई उदासिपनको कालो "Black Hole" मा लैजान बाट जोगाउने सुत्र हो | यसरी लेखन क्षमतामा आएको उदासिपनाबाट गुज्रिएको अवस्थामा  सिर्जनशिलता तिर  डोहराउहराउन सफल भयो र म बिश्वस्थ भए अब मेरा शब्दहरु हराउने छैन् , मेरा पुस्तकहरु सजावटको रूप मात्र हुने छैनन् | मैले प्रयोग गरेको संचार माध्यम विलासिनताको लागि मात्र हुने छैन | यसको उपयोगिताको लागि पनि हुने छ |

अन्तमा यो हातलाई डोहराएर यहाँ सम्म ल्याई दिन मदत गरेको त्यो न्यानो हातको साथलाई माया दर्शाउन चाहन्छु | मलाई आफु भएर जिउन प्रेरित गरेकोमा तिमीलाई पनि नमन गर्न चाहन्छु | 

Comments