लैङ्गिकताका आधारमा हुने महिला हिंसाका रुप

यहि नोवेम्बेर २५ तारिख देखि लैङ्गिकता का आधारित भएर हुने महिला हिंसाको बिरुद्धमा १६ दिने अभियान चालिएको थियो | लैङ्गिकताका आधारमा महिला माथि हुने हरेक किसिमको भेदभाव अनि हिंसाको अन्त्यका लागि यो अभियान चालिएको थियो | तर के प्रत्यक बर्ष यस्तो अभियान चालिंदैमा यस्तो किसिमको हुने हिंसाको अन्त्य हुन्छ त ? पक्कै पनि हुँदैन, यो त केवल समाजलाई झक झाकाउने बाटो मात्र हो | हुन त नेपाल सरकार ले विभिन्न सामाजिक संस्थाहरु संग आबद्ध रहेर यस्तो मुद्दाहरु को बारेमा जन चेतना फैलाउने काम त गरी राखेका छन् | तर पनि लैङ्गिकता मा आधारित रहेर हुने महिला हिंसाको अन्त्य भने हुन सकेको छैन | यसको कारण पहिल्याउन पनि जरुरी देखिन्छ | विभिन्न कार्यक्रमको तर्जुमा हुनु अनि त्यसको अग्रसरताको लागि दिनरात खटिनु, यसमा हामीले सोच्नु पर्ने नै देखिन्छ आखिर किन सकारात्मक हुन सकी राखेको छैन त ? यसको मूल कारण के हो त ? हामीले सोच्नु जरुरी छ | हामीले हाम्रो समाज अनि भूगोललाई नबुझिकन बनाईएको कुनै पनि नीति नियम अनि तर्जुमाले काम गर्ने छैन | हाम्रो समाजमा जरा गाडेर बसेको हाम्रो परम्परा अनि सोचाई एउटा कारक तत्वको रुपमा लिन सक्छौ | जब सम्म ति कारक तत्व को जरा उखेल्ने काम हुँदैन तब सम्म यस्तो किसिमको हिंसाको अवशेष विभिन्न रुपमा देखा परिनै रहन्छ |
लैङ्गिकता का आधारमा हुने हिंसा भनेको लैङ्गिक पहिचानसंग जोडेर हुने कुनै पनि किसिमको हिंसालाई बुझ्न सकिन्छ | यसरी हुने हिंसामा महिला, पुरुष जो पनि हुन सक्छन् | यहाँ हाम्रो समाजले गरेको लैङ्गिक बिभाजनमा; पहिचान, कामको विभाजन, भेषभुषा, आचरण, स्वभाव आदि इत्यादी पर्दछन भने यसै अनुरुप कार्य संचालन हुन्छ | यसरी विभाजित कार्यले त्यस्तै किसिमको मनोवृति, संस्कार, परम्परा, रिति थिति अनि वर्गको निर्माण हुन्छ | सामाजिक संरचनालाई संचालन गर्नको लागि त्यहाँ कुनै किसिमको विभेद अनि बिरोधको आभाष गरिंदैन | समाज यसरीनै चलिआएको छ र हामीले पनि यसरीनै संचालन गर्नु पर्छ भन्ने मान्यताको विकास भएको हुँदा परिबर्तनको झिल्का सजिलै संग कोर्न सकिंदैन | आर्थिक गतिबिधि संगै सरुवात भएको लिङ्ग भेद अनि त्यसले गाडेको जराले गर्दा महिला हिंसाको सुरुवात भएको देखिन्छ | पुरातनबादी अनि पितृसत्तात्मक सोचको अभिबृदीले यस्तो हिंसाले प्रसय पाएको छ | यो त भयो समाजमा देखिएका लैङ्गिकतामा आधारित हुने महिला हिंसाको पृष्ठभुमि | समाज यस्तो जटिल अवस्थामा पुगिसक्यो कि त्यहाँ अब हिंसाको कुरा आउदा महिला शब्द पर्यायवाची भइ सकेको छ | अनुसन्धानको आँकडा हेर्दा पनि महिला भएकै हिसाबले हिंसा खेप्नु परेको छ | अब यदि समाजमा कुनै पुरुषमाथि हिंसा हुन गयो भने पनि त्यो गौण अनि उपहासको पात्र बन्न पुग्छ | महिला हिंसा बिरुद्ध मात्र ऐन नियम अनि कानुनको तर्जुमा भएको हुँदा, यदि कुनै पुरुष हिंसामा परेको छ भने त्यसको विरुद्ध प्रक्रिया संचालन गर्ने कुनै कर्यबिधिनै छैन | न्यायलयले पनि बिशेष प्रकृति मुद्दाको रुपमा नहेरे सम्म त्यहाँ कुनै नजिर कानुनको जन्म हुँदैन | यी सबै कुरा हाम्रो सामाजिक संरचना अनि त्यसको आधारमा संचालन हुने कार्यले गर्दा यस्तो अवस्था सृजना भएको देखिन्छ | अझ लैङ्गिकतामा आधारित रहेर हुने अर्को हिंसाको बारेमा त समाज अहिले सम्म पनि मौन नै छ | समाजको आँखाले यस्ता किसिमको हिंसालाई समाजको सदस्यलाई पर्दामा उतार्न कहिले चाहना गरेन | तेश्रो लिंगी भनो या पारालिंगी, एक त यिनीहरुको अस्तित्व समाजले स्वीकार्न त के आवाज पनि सुन्न चाहेन | संधै घरको चार भित्तामा दबाएर राख्न खोज्यो | यो पनि लैङ्गिकतामा आधारित हुने एक हिंसाको रुप हो |
समाजमा महिला हिंसाका अनेक रुपहरु भेटिन्छन् त्यो ठाउँ, प्रकृति अनि भूगोल अनुसार फरक प्रकृतिको देखिन्छन् | समाजमा हुने महिला हिंसाको रुपलाई यसरी वर्गीकरण गरी हेर्न सकिन्छ |
मनोबैज्ञानिक रुपमा गरिने हिंसा हाम्रो समाजमा निकैनै प्रचलित भनाई “छोरीको जात अर्काको घर जाने जात हो |” सामाजीकरणको अभ्यासमा प्रचलनमा आउने यस्तो किसिमको भनाइले एउटी छोरीलाई न उसको जन्म घर अनि न त कर्म घर नै उसको हो भन्ने सोचको अभिबृति गराउदछ | यस किसिमको सोचाई अनि भनाइले आत्मबल घटाउने काम गर्दछ, र एउटा हिंसाको रुप यसै बाट सुरु हुन्छ |
सार्वजनिक स्थानमा हुने हिंसा – बाटोमा हिंड्दा होस् या सार्वजनिक यातायात, भिडभाडमा होस् हिड्ने ठाउँ हुँदा हुँदा पनि ढेसिएरनै जान्छन् | आफ्नो सुरमा हिंड्दा पनि सिट्ठी बजाउने देखि लिएर जिस्काउने प्रवृतिको त कुरा गर्ने पर्दैन, यो हामी सबैले भोगेकै कुरा हो | यसरी सार्वजनिक स्थानमा घट्ने घटनाले सबै केटीहरु लाई हिंड्न सहज हुँदैन | झन् रात्रिको समयमा हिड्ननै मन गर्दैनन् | अनि घर बाट पनि समय छदै घरमा पस्नु भन्ने आग्रह हुन्छ | यो पनि एक किसिमको हिंसानै हो तर हाम्रो समाजमा यस्तो क्रियाकलाप यति हुन्छ कि हामी केटीहरु वास्तानै नगरी समस्या पन्छाउन खोज्छौ | त्यसको प्रतिकार गर्दा झन् अर्को विपति आइलाग्ने त होइन भनेर चुप लाग्छौं | फेरी यस्तो समस्या समाधान गर्नको लागि कसैको मद्दत पनि मिल्दैन | त्यसकारण पनि हामी मध्य प्राय चुपनै रहन्छौ |
सांस्कृतिक अनि परम्परागत रुपमा हुने हिंसा – छुई बार्नु पर्ने परम्परा पनि एक किसिमको हिंसा नै हो | हुन त यसको सांस्कृतिक मान्यता आफ्नो ठाउमा होला | तर नेपालको सुदूरपश्चिममा जसरी महिनावारी भएको समयमा छाउ बार्नु पर्छ त्यसलाई हिंसाकै रुप भन्दा फरक पर्दैन | जुन बेला झन् ताकतिलो खाना अनि सरसफाईमा ध्यान दिनु पर्ने हो त्यस्तो बेलामा गोठमा बस्नु पर्ने हुन्छ | कसैले भने छाप्रो जस्तो छाउ घर बनाएका हुन्छन्, जुन सुरक्षाको दृष्टिले एकदम असुरक्षित हुन्छन् | वर्षा, हावा पानीको कुरै छोडोउ कतिजना त जंगली जनावरको शिकार हुन पुगदछन् भने, कति जना त्यहि छाप्रोमा बलात्कृत हुने गर्दछ, जुन कुरा समाचारमा बेला बेलामा छापीने गर्दछ |
त्यस्तै गरेर दाइजो प्रथा पनि महिला माथि हुने हिंसाको एक कारक तत्व हो | कति महिला दिदीबहिनीहरु यहि दाइजो को कारणले जिउदै आगोमा जल्न बाध्य छन् | आफ्नो बाबु आमाले जसो तसो ऋण लिएर भए पनि दाइजो दिनु पर्ने हुँदा , माईति सम्झेर आउने घर पनि रहँदैन | यस्तै परम्पराले गर्दा कति महिला घरेलु हिंसाको शिकार भएका छन् | आफ्नो गरी खाने भाँडो पनि नभएको हुनाले घरबाट निस्केर आफु माथि हुने हिंसाको बिरोध पनि गर्न सक्दैन् |
श्रीमान् को मृतु पछि विधवा बार्नु पर्ने | जिन्दगी भरि सेतो लुगा मात्र लगाउनु पर्ने | आफुले मन लागेको ठाउमा जान नपाउने | पहिला लक्षिनको रुपमा हेर्ने नारीलाई अलक्षिनाको रुपमा परिचय बन्न पुग्दछ | धन्न आज हाम्रो समाजमा सति प्रथा जिउदो छैन | नत्र भने कति नारी आफ्नो श्रीमानको पाप पखाल्न जिउदै चित्तामा जल्नु पर्दथियो | त्यसको लागि श्री ३ चन्द्र शमशेरलाई धन्यवाद दिनु नै पर्छ |
सांस्कृतिक परम्पराको रुपमा बिध्यमान रहेको अन्धबिश्वास बोक्सीको संज्ञा दिनु पनि महिला माथि हुने हिंसाको एक जटिल उदाहरण हो | बोक्सीको आरोपमा पनि थुप्रै महिलाहरु हिंसाको शिकार भएका छन् | मलमुत्र खुवाउने देखि लिएर, कुटपिट गर्ने, जलाउने अनि टोलबाट निकालिदिने गर्दछन | यस्तो किसिमको अन्धबिश्वासले कति नारी हिंसामा परेका छन् त्यो अनुमान लगाउनै सक्दैनौ | दिनै पछी समाचारको बिषय बन्ने यस्तो घटना झन् समाजमा कति घटदछन् | त्यस कारणले अब देखि यस्तो घटनाको शिकार हुन नपरोस् भनेर यस सम्बन्धी छुटै ऐन तयार भएको छ |
शारीरिक रुपमा हुने हिंसा – यस किसिमको हिंसाको कुरा गर्ने हो भने यो दिनै जस्तो समाचारको बिषय बन्न पुग्दछ | बलात्कारको घटना भनौ या सार्वजनिक स्थानमा हुने लैङ्गिक हिंसा, यो दिनहु जसो महिला ले भोग्नै परेको छ | त्यस्तै गरेर घरमा पनि आफ्नो लोग्नेको कुटाई दिनहु रुपमा खेप्नु परेको छ | त्यस्तै गरेर लोग्नेको यौन इच्छा मेटाउनको लागि इच्छा नहुँदा पनि बलात्कृत हुनु पर्ने बाध्यता छ | झन् अहिले आर्थिक संकटका कारण कामको खोजीमा हिंड्ने महिलाहरु दिनहु जस्तो विभिन्न सहरमा बेचिरहेका छन् | कसैको बाध्यता अनि गरी खाने केहि नभए पछी यसरी यौन व्यवसायमा लाग्ने गर्दछन | यो पनि हाम्रो समाजमा हुने एक हिंसाकै रुप हो |
सामाजिक सन्जालमा हुने हिंसा – आजको युग प्रविधिको विकासले शिखरमा चुमेको समय हो | जाहाँ स्मार्ट फोन अनि मोबाइलको नेटवर्क पुगेको छ त्यहाँ सामाजिक सन्जाल नचलाउने त कुरै हुँदैन | अझ त्यसमा पनि फेसबुक नचलाउने अहिले कोहि पनि हुँदैन | तर यसरी नजानिदो तरिकाले प्रविधिको प्रयोग गर्दा त्यसै बाट हिंसाको शिकार हुन पुगेका छन् | सामाजिक सन्जालमा राखिएका फोटोहरुको दुरुपयोग हुने, फर्जी नामबाट एकाउनट बनाइदिने हुँदा त्यसबाट मानशिक अनि सामाजिक अपहेलानाले शिकार बन्न पुग्दछ |
अन्य: यी माथि उदाहरण दिएका हिंसाका स्वरुप हाम्रै देशको घर आँगनमा देखिने हिंसाका अंश हुन् | यस्ता किसिमको हिंसा नेपालमा मात्र होइन हरेक देशको समाजमा भेट्ने गरिन्छ, चाहे त्यो सम्बृद्ध देशनै किन नहोस्, लैङ्गिकताका आधारमा महिला हिंसा भने हुने गरेको पाइन्छ | फिमेल जेनिटल मुटिलेसन् (FGM) को बारेमा त सबैलाई जानकारीनै होला | तर कतिपयलाई थाहा नहुन पनि सक्छ | यो पनि महिला हिंसाको एक दर्दनाक हर्कत हो | हुन त यसलाई विभिन्न देशमा कानुनी रुपमा हटाई सके ता पनि, गैरकानुनी रुपमा भने हुँदै आएको छ | यस्तो किसिमको प्रवृति दक्षिण अफ्रिकामा मात्र होइन, आर्थिक सम्बृद्धिले गगन चुमेका यूरोपियन राष्ट्रहरुमा पनि हुने गर्दछ |
त्यसतै गरेर ब्रेस्ट आईरोनिंग (Breast Ironing) गर्ने चलन पनि परम्परागत रुपमा अहिले सम्म पनि चली आएको छ | क्यामरुन, नाइजेरिया, दक्षिण अफ्रीका देखि लिएर हजारौ केटिहरु यु.के का राष्ट्रहरुमा पनि संबेदनशील अवस्थामा भेटिन्छन | जाहाँ एउटा महिला भएर, प्राकृतिक रुपमा उसले पाउने आफ्नो शारीरिक बनोटलाई पनि, सामाजिक कु-मान्यताले गर्दा कैयौं कठिनाई सहेर कुरूप बन्नु पर्ने अवस्था छ | आफ्नो योनिकताको पनि अधिकार छैन, जुन प्राकृतिक देन हो | जुन सृष्टिको शृजना यसै बाट हुन्छ, त्यसलाई एउटा महिला भएको हिसाबमा अनुभूत पनि गर्न सक्दिन |
यस्तै प्रकारका विभिन्न हिंसा एउटा महिला भएकै हिसाबले खेप्नु परेको | यसरी लैङ्गिकताका आधारमा हुने हरेक किसिमको महिला हिंसाको अन्त्यका लागि, त्यसै अनुरुपको कार्यक्रमको तर्जुमा गर्नु पर्ने देखिन्छ | सामाजिक परिवेश अनुसारको शिक्षा नीति ल्याउन जरुरी देखिन्छ | ता कि हाम्रो समाजमा जे भई राखेको छ त्यो किन अनि के कारण ले भईराखेको छ | त्यसको अन्त्यका लागि कस्तो खाले उपाय अपनाउनु सकिन्छ भन्ने कुराको जनस्तर बाटै चेतना फैलियोस् | आर्थिक पक्ष पनि कारक तत्व भएको हुनाले, महिला शिप अनि अभिमुखिकरणको कार्यक्रम ल्याउन जरुरी देखिन्छ | त्यस्तै गरेर राज्यको तर्फ बाट पनि त्यस्तै किसिको नीति नियम को तर्जुमा अनि कार्यावयन गर्नु पर्ने देखिन्छ | र सबै जनाले स-चेतना अनि साथको प्रतिबद्धता जनाउनु पर्ने छ |


Comments