एसिड आक्रमण, सामाजिक संरचना र शिक्षा

अपराधको दुनियाँले कति सम्म मान्छेलाई डोहराउँदछ, त्यो कल्पना गर्न पनि सकिंदैन | मान्छेले केहि पनि सोच्न अनि बुझ्न सक्दैन | उ त बस आफ्नो मस्तिष्कमा चलेको बाढीको को निमित्त नायक बनेर इशारामा कदम चाल्ने गर्दछ  | उसलाई केहि पनि ज्ञात रहदैन उ के गर्दै छ | तर कुनै पनि अपराधको पछाडी सामाजिक कारणहरु जोडिएर आएको हुन्छ | समाजशास्त्रीहरु का अनुसार कुनै पनि घटना घट्नुमा त्यहाँ व्यक्तिमात्र होइन उसको वरिपरिको सामाजिक संरचना र वातावरणले पनि असर पार्दछ |

समाजशास्त्री सी.एच.कुली का अनुसार, कुनै पनि व्यक्तिले गर्ने व्यवहार, सामाजिक व्यवहारबाट प्रभावित हुने गर्दछ | उनले गरेको सामाजिक अनुसन्धानले के प्रस्ट पार्दछ भने, कुनै पनि व्यक्तिले गर्ने व्यवहार उसको वरिपरिको वातावरणमा निर्भर पर्ने देखिन्छ | उनले प्रतिपादन गरेको सिद्धान्त “Looking Glass Self” का अनुसार एक व्यक्तिले ऐनामा हेर्दा आफुलाई जस्तो देख्छ, त्यस्तै छु भन्ने व्यवहार गर्दछ | उनले यस सिद्धान्तमा तिन कुरालाई अघि सारेका छन्:
१. व्यक्तिले आफु कसरी अरुको सामु प्रस्तुत हुने भन्ने सोच बनाउदछ,
२. अरुले आफु प्रति कस्तो सोचाई राख्दछ भन्ने विचार उत्पन्न हुन्छ,
३. आफ्नो मष्तिस्कमा आफुले अरु प्रति गर्ने व्यवहार अनि अरुले आफु प्रति गर्ने व्यवहारको आधारमा मानसिकता विकास गर्दछ |

केहि समय अघि राजधानीमा एसिड आक्रमण भयो | जीवन विकले अपराध गरे, जीवन विकलाई उसले गरेको अपराधको सजाय हुनु पर्छ | यस्तो घटना समाजमा पुनः हुन नदिन कानूनको आधार बलियो बनाउनु पर्छ | अपराधीलाई  कानून बमोजिम सजाय हुनु पर्छ | भन्ने भन्दा पनि यो अपराध किन , कसरी अनि के कारणले गर्दा घट्न पुग्यो  भन्ने कुरा पनि बुझ्नु जरुरी देखिन्छ | विभिन्न पत्र पत्रिका अनि अनलाइन संचार माध्यममा प्रकाशित भएको अन्तरवार्ताअनि समाचारले के प्रस्ट्याउदछ भने, जीवन विकले जे गरे यसमा उसको मात्र एक्लो हात छैन | सिंगो सामाजिक संरचनाका कारण एउटा व्यक्तिबाट यो घटना घट्न पुग्यो |

सी.एच.कुली को सिद्धान्त “Looking Glass Self” जीवन विक को जीवनमा जोडेर हेर्ने हो भने, उसले आफ्नो वरिपरिको वातावरणले उसको बारेमा जस्तो सोच उत्पन्न भयो त्यस्तै व्यवहार उनले प्रतिउत्तर दिए | उसले “कामी” परिवारमा जन्म लिनु उसको गल्ति थिएन तर समाजमा उत्त्पन्न छुवाछुतले गर्दा आफ्नो पहिचान लुकाई नंया जीवन व्यतित गर्न बाध्य भयो | तर जब यो कुरा सामाजसामु आयो उसप्रति समाजले गर्ने व्यवहारमा पनि परिवर्तन आयो | उसलाई हेपाहाको दृष्टिले हेर्न सुरु गरियो | उसको परिवारले पनि ज्याजति सहनु पर्यो | कानुनको आश्रममा संरक्षण माग्न जाँदा पनि, ऊ आफै पनि दबाबमा पर्न पुगे | यी सब घटनाले उसमा नैराश्यता छाउन पुग्यो | उसले जति राम्रो गर्न खोजे पनि, दुर्व्यवहार खेप्नु परेकोले गर्दा उसमा पनि बदलाको भावना उत्त्पन्न हुन पुग्यो | जसले गर्दा ऊ बाट अपराध समेत हुन पुग्यो |
समाजशास्त्रका पिता इमाइल दुर्खिमका अनुसार सामाजिक अपराध हुनुका कारण व्यक्ति मात्र त्यहाँ समाबेस हुँदैन | उसले त्यसो गर्नुमा व्यक्तिको भन्दा समाजले बढी निर्णायक भूमिका खेलेको हुन्छ | समाजमा घट्ने घटनाले गर्दा उसको मस्तिष्कमा आघात पर्न जान्छ |सामाजिक सम्बन्धमा एकता (Solidarity) हुनु जरुरी छ | सामाजिक नियम, मूल्य मान्यतामा खुकुलो पना हुनु जरुरी छ | जसले गर्दा समाजको हरेक सम्बन्ध अनि हरेक कार्यलाई बुझ्न अनि अपनाउन सजिलो हुन्छ | इमाइल दुर्खिमकको सामाजिक एकता (Social Solidarity) को कुरालाई “एसिड आक्रमण” को घटना संग जोड्न सक्छौं |

समाजशास्त्री इमाइल दुर्खिमले (Solidarity) एकतामा कमजोरी आउनाले नै समाजमा अपराधको घटना घट्ने गर्दछ, भनेका छन् | त्यस्तै जब जीवन विक, जीवन खड्का थिए, त्यहाँ दुइ परिवार बीच राम्रो सम्बन्ध थियो | त्यहाँ दुई परिवार बीच एकता थियो | जसले गर्दा सम्बन्ध सुमधुर थियो | तर जब संगीता मगरले उनि विक अर्थात् “कामी” रहेको थाहा पाइन् तब त्यहाँ सामाजिक मतभेद सुरु हुन थाल्यो | सुमधुर सम्बन्ध एका एक रिसबी, धोकामा बदलिन पुग्यो | त्यहाँ उसले अपहेलित भएर बाच्नु पर्ने भयो | सामाजिक सम्बन्धमा आएको दरारले गर्दा उसको मस्तिष्कमा आघात पर्न गयो र ऊ बाट जघन्य अपराध हुन पुग्यो |

संचार जगतमा देखाईने हरेक कुराको दुईवटा पाटो हुन्छ एउटा सकरात्मक अनि अर्को नकारात्मक | सामाजिक जीवनमा परिवर्तन, विचलन ल्याउने कारक तत्व मध्य संचार माध्यम पनि एक हो | जीवन विकले पहिला आफुमा उत्पन्न भएको बदलाको भावना उजागर गर्न लाठीको प्रयोग गर्ने रणनीति बनाएता पनि टेलिभिजनमा देखाइने कार्यक्रमको प्रभावबाट “एसिड” प्रयोग गर्ने सोच बनाए | फल स्वरूप एस.एल.सी परिक्षा दिन तयारीमा बसेका संगीता मगर सहित उनको साथी पनि बदलाको चपेटामा परिन् |
परा पूर्वकाल देखि चल्दै आएको छुवाछुत प्रथाले समाजमा गहिरो जरा गाडेको प्रस्ट हुन्छ, जब यो घटना हाम्रो आँखा अगाडी आउंछ | हाम्रो मानस पटलमा डेरा जमाएर बसेको छुवाछुतको भावनाले यस्तो जरा गाडेर बसेको छ, जुन कुरा आधुनिक शिक्षाले पनि मेटाउन सकेन | नेपालको अन्तरिम संविधान, २०६३, भाग -३, धारा -१४ मा छुवाछुत तथा जातीय भेदभाव बिरुद्धको हक उल्लेख गरिएको छ |छुवाछुत तथा जातीय भेदभाव भएमा कानुन बमोजिम दण्डनीय हुने कुरा जनाएको छ | तर कानुनले बन्देज लगाएता पनि लामो समयदेखि हाम्रो समाज र हाम्रो मानसिकतामा जरा गाडेर बसेकोछुवाछुत प्रथा हट्न सकेको छैन | त्यसलाई कार्यन्वयनमा ल्याउने निकाय कमजोर बन्दा प्रभावकारी भएको देखिंदैन |


अक्षर चिन्ने अनि अंग्रेजी रट्नेसम्मको मात्र हाम्रो शिक्षा नीतिले हाम्रो आँखामा उज्जालो छर्न सकेन | आधुनिक शिक्षाले समाजमा रहेको कुरीति, छुवाछुत हटाउने अनि परिवर्तन गर्ने ज्ञान दिन सकेन | शिक्षा केवल व्यापार अनि सर्टिफिकेट लिने दिनेमा मात्र सिमित रह्यो | शिक्षा कहिले ज्ञान केन्द्रित रहेन | नैतिक ज्ञान, अनुसाशन, मुल्य मान्यताको कुरा भन्दा धेरै पर उड्न थालेको छ शिक्षा | जसले सकारात्मक सोच, असल जीवनको पाठ भन्दा पनि सफल हुने अनि ठुलो बन्ने दाउपेज मात्र सिकाउन थालेको छ |अहिले हाम्रो समाजमा सामाजिक सोच, चेतना, शिक्षा, नैतिक ज्ञान अनि व्यवहारको ठुलो खाँचो देखिन्छ | आमुल परिवर्तनका लागि सामाजिक सम्बन्ध, एकाई अनि संस्थामा सकारात्मक परिवर्तनका साथै एकताको आवश्यकता देखिन्छ | त्यस्तै राजनैतिक अस्थिरता अनि कानुनको फितलो कार्यावयनले गर्दा समाजमा यस्तो घटना घट्ने हुँदा सरकारी प्रशासनिक तवरबाट पनि बलियो कदम चाल्नु पर्ने देखिन्छ |

Comments