Jun 26, 2014

भक्तपुर भ्रमण : एक समिक्षा

       पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र द्धितीय बर्ष मा अध्यनरत बिद्यार्थीको समूहले सानो भेला गरी शनिबार को दिन सबैलाई पाएक पर्ने गरेर भक्तपुर भ्रमण गर्ने निधो गरेम | एम. ए. को अन्तिम बर्ष भएको कारण ले गर्दा पनि साथीहरु माझ पछी सम्म पनि सुमधुर सम्बन्ध रहोस् भन्ने उद्दश्यका साथ यस  भ्रमण को आयोजना गरिएको थियो | प्राय सबै साथीहरुको आ-आफ्नो काम को व्यस्तताका कारण सबैलाई यस भ्रमण मा समाबेश गर्न नसके पनि सानो भेलाले थुप्रै अर्थ बोक्यो | शनिबारको दिन सबेरै भक्तपुरको सुर्यविनायक चोकमा भेट्ने उत्साहका साथ सबै जना आ-आफ्नो घर बाट बिहानै पाएक पर्ने बस बिसौनी बाट भक्तपुर सुर्यविनायक चोक तर्फ हुइकियौ | भ्रमणको उद्दश्य रमाइलो गर्ने अनि पछी सम्म पनि यादगार होस् भन्ने थियो तर रमाइलो का साथ-साथै धेरै कुरा अवलोकन अनि आफ्नै किसिमले समिक्षा गर्ने मौका पनि पायौ | हामीले भक्तपुरका प्राय सबै प्रसिद्ध मन्दिरहरु को भ्रमण गर्यो तर यसको मतलब यो होइन कि हामीमा धेरै धार्मिकता थियो | चाहे त्यो धार्मिक स्थल होस् या कुनै अर्कै हामी केवल रमाइलो गर्न चाहन्थ्यो | काठमाडौँ उपत्यका लाई मन्दिर नै मन्दिर को शहर को रुपमा हेर्ने गरिन्छ यस अर्थ मा पनि हामी जहाँ सुकै गएता पनि धार्मिक स्थल त बाटोमा नै परिन्थियो | हामीले भ्रमण गरेको स्थलहरुमा सुर्यविनायक, केदारनाथको शिर भाग डोलेश्वोर महादेव, कमलविनायक, नवदुर्गा मन्दिर हुदै भक्तपुर दरबार क्षेत्रमा अवस्थित संग्रालयमा गयौ |

प्रसङ्ग सुर्यविनायकको


           सात जनाको समुहले सुर्यविनायक को सर्बप्रथम दर्शन गर्यौ | कुनै पनि सुभकार्य को लागि गणेश भगवानलाई अग्रणी मान्ने गरिन्छ सायद त्यहि भएर होला हाम्रो भ्रमण पनि यादगारनै रह्यौ | साना कलिला बच्चा को शारीरिक बिकाश राम्रो संग होस् भनेर आमा-बुबा ले आफ्ना बच्चाहरुलाई यस मन्दिरको दर्शनको लागि ल्याउने गर्छन | मन्दिरमा बोल्न नसक्ने बच्चालाई दर्शन को लागि ल्याइयो भने भगवानको अशिर्बादले बोल्न सक्ने हुन्छ भन्ने जन विश्वासका साथ श्रद्धालु भक्तजनको घुइंचो यस मन्दिर मा लाग्ने गर्दछ | यस मन्दिरको परिषर भन्दा अलि माथि यउटा कोठा रहेको छ जसमा बच्चालाई केहि समयको लागि बन्द गरियो भने बोल्न नजान्ने बच्चा आफ्नो आमा बुवा को नाम पुकार्ने गर्छन रे | हुन त धार्मिक मान्यता र कथन आफ्नो ठाउमा होला तर  यसरी बच्चा लाई अन्धकार कोठामा थुन्दा बच्चाको मानसिकता मा के बित्ला ? हामी त्यस ठाउमा जाँदा एक जना सानो बच्चालाइ थुनिएको रहेछ बच्चा डरको कारण चिच्याउदै रुँदै थियो | अनि त्यस पछि ढोका खोलिदियो | केहि बेर सम्म पनि बच्चा डरको कारणले रुँदै थियो | भर्खर मात्र बोलि फुटेको त्यो अबोध बालक को आमा बुवा चाहन्थे कि त्यो बन्द कोठा बाट पनि बच्चा ले आफ्नो आमा बुवा को नाम लिउन तर त्यसको बिपरित बच्चा डरले रुन मात्र सके | पछी आमा चाहीले आफ्नो बच्चालाई डर पैदा गराएको भन्दै माफी पनि मागे | धार्मिक आस्थासंग जोडे पनि कतिपय कुराहरु सान्दर्भिक हुन सक्दैन | यो कुरा लाई उनीहरु ले पहिला बुझ्न सकेनन् | यी त भए धार्मिकस्थलको बारेमा सानो जानकारी | अब भने केहि रमाइलो प्रसङ्ग जोडौ |

    
     नंया जमानाको युग त्यसमाथि पनि युवा पुस्ता, नंया ठाउमा घुम्न जाने अनि फोटो नखिचाउने भन्ने त कुरै उठ्दैन | जे भए पनि घुम्न गएको ठाउको सम्झना स्वरूप सबै जना फोटो खिच्ने ताकझांकमा लाग्यौ | तर यसै समयमा भने साथी किर्ति कुमार को फोन को घन्टी बजेको बज्यै गर्न थाल्यो | उसलाई फोटो खिच्ने चक्कर भन्दा पनि फोन उठाउदै कुरा गर्दैमा फुर्सद छैन | हामीले पनि के सोच्यौ भने यसै गरि कीर्तिको फोन बजिरख्यो भने उसंग फोटोनै खिच्न नपाइने हो कि भनेर, हामी पनि उ जस्तो अवस्थामा भेटियो त्यस्तै अवस्थामा फोटो पनि खिच्चिहाल्यौम | त्यसपछि त हाँसोको फन्कार पनि केहि समय सम्म गुन्जिनै रह्यो | जे भए पनि रमाइलो गर्न गएको रमाइलो नै भयो अनि यो घटना सायद सबैलाई यादगारनै रहन्छ भन्ने लाग्छ | सुर्यविनायकको यो रमाइलो प्रसङ्ग पछि हामी खाना खानको लागि पुन: चोकमा आयौ अनि केहि बेर त्यहिनै आराम गर्यो |  केहि बेरको बिश्राम पछि हाम्रो सानो पल्टन डोलेश्वोर महादेव स्थान जनाको लागि तयार भयौ | आधा आधा घण्टामा गाडी छुट्टीन्दो रहेछ | कुन बाटो बाट गइन्छ भन्ने थाहा नहुँदा सबै जना त्यही चोकमा आधा घन्टा प्रतिक्षा गर्यो, तब मात्र बल्ल बल्ल डोलेश्वोर महादेव जाने गाडी आयो अनि हामी त्यही गाडीमा बसेर नंया गन्तब्य तर्फ लाग्यौ |


डोलेश्वोर महादेवस्थान


           सुर्यविनायक चोक बाट केहि पर एउटा मोड आउँदो रहेछ, त्यहि मोड बाट डोलेश्वोर महादेवस्थान जाने बाटो प्रारंम्भ हुन्छ | भक्तपुर जिल्ला को सिपाडोल -६ मा अवस्थित डोलेश्वोर जाने बाटो सानो अनि कच्ची सडक त्यसको वरिपरी इँटा बनाउने भट्टी, सहर को कोलाहल भन्दा अलि शान्त रमणीय वातावरण भएको बाटो को दृश्य अवलोकन गर्दै हामी पुग्यौ डोलेश्वोर महादेवस्थानमा | सहरको बस्ति भन्दा केहि माथि अवस्थित केदारनाथको शिर भाग डोलेश्वोर महादेवको मन्दिरको ऐतिहासिक अनि धार्मिक परम्पराको दृस्टीले निकैनै महत्वपुर्ण स्थलको रुपमा पुजिने गरिन्छ | ऐतिहासिक मान्यता बोकेपनि यस मन्दिर केदारनाथको शिर भाग हो भनेर  केहि बर्ष अगाडी मात्र घोषित भएको हो | त्यस पश्चात यस क्षेत्र को संरक्षण अनि प्रबर्धनको लागि समिति गठन गरिएको छ | यस क्षेत्रको धार्मिक अनि पर्यटकीय बिकाशको लागि यस क्षेत्रको आकर्षणका  लागि  भौतिक संरचना निर्माणको गुरुयोजनाको समेत निर्माण गरिएको छ |

भक्तपुर दरबार क्षेत्र 

      आफ्नै छुट्टै मौलिक भाषा, कलाकौशल, ऐतिहासिक अनि रमणीय बातावरणले भरिपुर्ण सहर भक्तपुर घुम्न जान जो पनि लालाहित हुन्छन | पर्यटकहरुको आकर्षित गन्तब्य मध्य भक्तपुर पनि एक सहर पर्दछ | आफ्नै मौलिकतामा बाँच्न मन पराउने भक्तपुरका मानिसको आफ्नै छुटै प्रकारको जीवन शैलीले गर्दा जो कोहि पनि भक्तपुर प्रवेश गर्दा छुट्टै आनन्द लुट्छन पर्यटकहरु | माटाका भाडा कुडा, काठले बनेका आकर्षक घर अनि गर्मीमा शितल प्रदान गर्ने मिठो दहीको सम्झना भक्तपुर जाने जो कोहिले पनि गर्छन | कृषि पेशामा पनि आबद्ध भएका कारण तरकारी खेती गरी काठमाडौँ उपत्यकाको आवश्यकतालाइ पनि परिपूर्ति गर्न सक्षम छन् भक्तपुर बासि | पच्पन्न झ्यालको आकर्षण होस् या बिस्केट जात्राको जिब्रो छेड्ने परम्परा होस् , भक्तपुरलाई आफ्नो मौलिकता बचाई राखेकोमा हामी जस्ता नंया पुस्ताले केहि शिख सिक्नुका साथै धन्यवाद पनि ज्ञापन गर्नु पर्छ जस्तो लाग्छ | अधिकांश रुपमा नेवार बस्ती रहेको भक्तपुर शहर आफ्नो छुट्टै नाम थर ले पनि परिचित छ | काठमाडौँ उपत्यकाको अरु नगरपालिका भन्दा पनि भक्तपुर नगरपालिकाले आफ्नो सहरको फोहर आफै व्यवस्थित गर्ने हुनाले अरु सहर भन्दा सफा पनि देखिन्छ | यस अर्थमा पनि भक्तपुरलाई उदाहरनिय सहरको रुपमा लिन सकिन्छ | पर्यटकको घुइंचो लाग्ने भक्तपुर सहरमा गएर गर्मीको याममा मिठो जुजु दहि खानुको आनन्द सम्झिंदा पनि पुरानो याद ताजा रहन्छ हुन्छ |

                 
 कलाकौशलमा प्रतिभावान भक्तपुर जिल्लाको मनिस आफ्नो शिपलाई तिखार्नको लागि दिनरात मिहेनत गर्न पछी पर्दैन | तर आधुनिकताको प्रभाब संगै मानिसहरु त्यसैमा लोभिएका छन् | फुर्सदको समयमा पनि घरायसी काम गर्न रुचाउने मानिस अहिले साथीभाई भेला पारी खेल्न मा दिन गुजार्न मन गर्दछन | नंया पुस्ता मा यो देखियता पनि पुरानो पुस्ता या भनौ जेष्ठ महिला उनीहरु आफ्नो दिनचर्या अनि अल्छीपना हटाउन पनि काम गर्न नै रुचाउन्छन | आफ्नै मौलिक भाषा मात्र प्रयोग गर्ने हुनाले पुरानो पुस्ता लाई नेपाली बोलि चालीको भाषाको ज्ञान नभएता पनि आगन्तुक संग भने नम्र संगै पेश आउँछन् | भाषा अनि भौगोलिकताको ज्ञान नभएपनि काठमाडौँ सहर भन्दा दूरदराजको साथी संग भने  कुरा कानी गर्न इच्छुक थिए त्यहाँका बासिन्दा | एकछिनको गफगाफ पनि रमाइलो आनन्दभुती महशुस भएको थियो हामीलाई | समयको डोरीले बाँधिएका कारण राम्रो संग बस्नु है भन्दै हामी बिछोडिएम |

                       
           आधुनिक समाजले डोर्याएको हामीलाई फेरी भक्तपुरमा फोटो खिचाउने चक्करले छोडेन | दहीको आनन्द लुट्दै फेरी फोटो खिच्न हाम्रो मन लालाहित भयो | केहि क्षणको आनन्द पछी भोक अनि थकाई ले चुर भएका हामी ख्वोप गार्डेनमा गएर नेवारी खानाको मज्जा लिएम अनि त्यहि केहि बेरको बिश्राम पछी पुन आ -आफ्नो गन्तब्य तर्फ लाग्यौ | रमाइलो अनि निक्कै यादगार क्षणको समिक्षा गर्नु पनि एक महत्वपुर्ण काम हुँदो रहेछ | त्यो क्षणलाई सम्झंदै लेखिएको यो लेख पनि सायद पछि सम्मको लागि हाम्रो जीवनको अभिलेखको रुपमा रहन्छ होला | भ्रमण एक दिनको रहेको थियो तर त्यहाँ बिताएका पल भने जीवन भरिलाई रहेने भयो | रमाइलो अनि सम्झना योग्य त्यो भ्रमणले हाम्रो जीवनमा आनन्द मात्र दिएन केहि सिक्ने अनि भलाकुसारी गर्ने मौका पनि पायौ | फेरी पनि यस्तै भ्रमण त्यो पनि शैक्षिक रुपमा गर्नको लागि पनि यस भ्रमणले हामीलाई नंया गोरेटो प्रदान गरेको छ | यस्तै नंया अनुभब अनि जीवनमा केहि गर्नु पर्छ भन्ने जोश अनि जाँगरका  साथ केहि सम्झना यस लेख मार्फत प्रस्तुत गर्ने जमर्को गरे |

1 comment:

Ramsharan Paudel said...

Wow! Sounds great. Writing a review is more difficult than visit itself. So, well done and well recored........