सम्बन्धमा संवाद र अभिव्यक्ति : झ्यानाकुटी फिल्म समिक्षा

 

पुरा विश्व कोरोना भाइरस कोभिड-१९ बाट आक्रान्त भएको बेलामा मानिसहरु सुरक्षित भएर बस्नको लागि सामाजिक – शारीरिक दुरी कायम गर्दै बस्नु परेको छ | संक्रमण बढे संगै बेला बेलामा सरकारले सुरक्षाको लागि भनेर “बन्दाबंदी” (Lock down) गर्दै आइरहेको छ | यस्तो अवस्था बाट नेपाल पनि अछुतो भने छैन | यसरी घरमै बसेर समय व्यतित गर्नु परेको छ | पहिलो “बन्दाबंदी” (Lock down) मा त मानिसहरु ३ महिना सम्म घरमा नै थुनिएर बस्नु पर्यो | घर बाट बाहिर निस्किएर काम काजी गर्ने व्यक्तिहरु, अधिकांशले घरमा नै थुनिएर बस्नु पर्दा,  यो कुराले सबैलाई सहज भने बनाएको थिएन | यसले यतिकै समय व्यतित गर्नु पर्ने देखि लिएर , आर्थिक भारको समस्या पनि खेप्नु परेको थियो | त्यसपछि पुन निशेधाज्ञा भनेर महिना दिन सम्म फेरी त्यहि शैली दोहरियो | यस्तो परिस्थिले बिहान र बेलुका को छाक टार्न समेत गारो बनाएको छ | त्यसमाथि कोरोना भाइरस कोभिड-१९ को सन्त्रास उतिकै छ |

तर हामी मान्छे त हौँ , हरेक परिस्थितिलाई समयानाकुल आफुलाई ढाल्दै लग्न सक्छौं | यदि हामीले यस विषम परिस्थितिलाई सदुपयोग गर्न सक्यौं भने यस्तो बन्दा बन्दीको समयमा पनि सृजनात्मक तथा रचनात्मक कार्यहरु गर्न सक्छौं | यस्ता थुप्रै उदाहरणहरु हामीले समाचारमा सुन्न र पढ्न सक्छौं | जस्तो सुकै विषम परिस्थिको सामना सबैले गर्न सक्दैन | सबैलाई अहिलेको जस्तो परिस्थिमा जुध्नको को लागि निकै हिम्मत र धैरेयताको खाँचो हुन्छ | अहिलेको जुन किसिमको परिस्थिति छ , त्यो हाम्रो वशमा छैन | त्यहि भएर परिस्थिति संग हामीले बाँच्ने कला सिक्नुपर्दछ | यस अवस्थामा हामीले कहिले देखि केहि गर्छु , सिक्छु भन्ने सोच बनाएको छ, जुन कुरा हामीले ब्यस्त दिनहरुमा गर्दा समय निकाल्न सकेका थिएनौं, ति कुरालाई हामीले यस समयमा लागु गर्न सक्छौं | यसरी समयको सदुपयोग पनि हुने देखिन्छ भने, सृजनशील पनि हामी उतिक्कै हुन सक्छौं |   

मेरो आफ्नो व्यक्तिगत दैनिकी को बारेमा भन्नु पर्दा , यस बन्दा बन्दीको परिस्थितिमा समय व्यतित गर्नको लागि आफ्नो अफिसको काममहरु, अनलाइन ट्रेनिङ, घरको दैनिक काम काज बारेक केहि फिल्महरु हेर्दै बित्न थाल्यो | त्यसरी फिल्म हेर्ने क्रममा मेरो दृश्य नेपाली कथानक चलचित्र “झ्यानाकुटी” मा पर्यो | सौगात मल्ल र बेनिशा हमालको मुख्य अभिनय रहेको यस चलचित्रको बारेमा धेरैनै सुनेको थिएँ तर हेर्ने मौका भने पाएको थिएन, तर यस बन्दा बन्दीले हेर्ने मौका जुराई दियो | फिल्म हेर्दै जाँदा कलाकारको अभिनय भने राम्रो लाग्यो | बिशेष गरी बेनिषा हमाल अभिनित चलचित्र हेरेको यो मेरो पहिलो चोटी थियो | फिल्म हेर्ने क्रममा अभिनयबाट मनोरञ्जन त लिंदै थिएँ तर यसै क्रममा फिल्मको परिवेश, कथावस्तु र चरित्र चित्रणले मलाई यसरी आकर्षित गर्यो कि, धेरै समय पछि सुस्ताएको मेरो लेखन कार्यमा जोश भरिदियो | र यस चलचित्रको बारेमा समिक्षा लेख्ने विचार फुर्फ्रायो | 

दुई व्यक्तिबीच सम्बन्ध कायम गर्न र स्थापित सम्बन्धलाई निरन्तरता दिनको लागि त्याँहा “सम्बाद” हुनु जरुरी हुन्छ | एक अर्कालाई माया गर्नु एउटा कुरा हो भने त्यसलाई सहि रुपमा अभिव्यक्त गर्न नसक्दा सम्बन्धमा आउन सक्ने फांटोको बारेमा दर्शाउन खोजेको छ | यही कुराले मलाई बढी आकर्षित गर्यो  र यस बारेमा समिक्षा लेख्नको लागि अभिप्रेरित पनि गर्यो |

चरित्र चित्रण

सर्वप्रथम त यस चलचित्रको मुख्य पात्रको चरित्र चित्रणको बारेमा चर्चा गरौँ | मुख्य पात्रको रुपमा बेनिशा हमाल “मालती” पात्रको भूमिकामा छिन् भने सौगात मल्ल भने “बुधे” पात्रको भूमिकामा प्रस्तुत भएका छन् | यी पात्र श्रीमान् श्रीमतीको भूमिकामा आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् | यी दुईका एक सन्तान पनि छन् | ८ महिने यो बालकको नाम भने “डमरु” राखी दिएका छन् उनका बाबु बुधे ले |

बुधे पात्र

सानै मा आमा बितेका , बाबुले दोश्रो श्रीमती ल्याएपछि अलपत्र परेका बुधेले कहिले पनि मायाको आभाष गर्न पाएन | दुखले हुर्केको भएर माया कस्तो हुन्छ र माया कसरी दर्शाउनु पर्छ भन्ने कुरा उसले कहिले पनि जानेन | स्वभावले जंघी देखेता पनि सोझो र इमान्दार छ बुधे | शाकाहारी भए पनि रक्सीको लतमा फसेको बुधे - ले, रक्सी खानको लागि श्रीमतीले खानको लागि ल्याएको मासु पनि भान्छा बाट उठाएर होटेलको साउजीलाई समेत बुझाउने बानि छ उसको | आफ्नो पुरुषार्थ प्रति एकदम दम्भ छ , तर जे जस्तो भए पनि श्रीमतीलाई र आफ्नो सन्तानलाई धेरै माया गर्छ |

मालती पात्र

मालती पात्र पनि सोझी भएता पनि कडा स्वभावकि छे | खसी कट्टा खड्काको छोरी हुनुमा उनलाई धेरै दम्भ रहेको छ | मलेसिया बाट फर्केर आएको राम्रो सोझो मान्छे भनेर मागी बिवाह गराई दिएका उनलाई , जड्डीह्या बुढा परेकोमा भने निकै दुखेसो छ | मासु खान रुचाउने उनी, सन्तानलाई पोषिलो दुध खुवाउनको लागि भए पनि बेला बेलामा मासु खाने गर्छिन् उनी, तर उसको श्रीमानलाई भने त्यसको वास्तानै हुँदैन | रिसको झोकमा मूखाले उनी, आफ्नो श्रीमानलाई भन्नु – नभन्नु सम्मको गालीगलौज गर्न पुग्छिन् | तर जे जस्तो भनेता पनि आफ्नो श्रीमान् र बच्चालाई धेरै माया गर्छिन् | मालती आफ्नो भूमिका निर्वाह गर्दै गर्दा बिचमा अरुको प्रपन्चमा रुमलिन पुग्छिन् र त्यहि भुमरीमा अल्मलिन पुग्छिन् | तर कडा मिजासको उनी र खसी कट्टा खड्काको छोरी हुनुमा रहेको उसको दम्भले, उसलाई जालमा फसाउन भने गार्हो छ |

यो त भयो मुख्य पात्रको रुपमा भूमिका खेलेको पात्रको चरित्र चित्रण | तर यसैमा मात्र भने चलचित्र सिमित रहँदैन | यी दुई पात्रको कथालाई लम्बाउनको लागि त्यसमा मर-मसला छर्नको लागि थुप्रै पात्रहरुले भूमिका खेलेको छ | हुन त श्रीमान् – श्रीमतीको झगडा भनेको परालको आगो भन्छन् | त्यही आगोमा घिऊ थप्नको लागि र आगोलाई निभ्न नदिनको लागि आगोलाई अनियन्त्रित गर्न बिभिन्न प्रपन्च, जाल झेल गर्नको लागि थुप्रै पात्रहरुले भूमिका खेलेको छ | यसैको वरिपरी कथाले लम्बिनको लागि ठाउँ पाएको छ | र लेख जगतमा कहिले काहीं कलम चलाउने मलाई भने सामाजिक विश्लेषण गर्नको लागि प्रेरित गरेको छ | समाजशास्त्रको बिद्यार्थी भएको नाताले गर्दा यस चलचित्रमा देखाएको परिदृश्यमा सामाजिक विश्लेषणको कलम चलाउनु पर्छ जस्तो लग्यो |

सम्बन्धमा सम्बाद र अभिव्यक्ति

सम्बन्धमा सम्बाद र अभिव्यक्ति ले निकै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ | कुनै पनि सम्बन्ध सुमधुर कायम राख्नको लागि सम्बाद हुनु जरुरी दखिन्छ | सम्बाद बिना सम्बन्ध कायम राख्न गार्हो पर्न सक्छ | त्यसमाथि पनि सम्बाद अभिव्यक्त गर्ने तरिका सहि रुपमा हुन सकेन भने सम्बन्ध मा दरार पर्दै जान सक्दछ | Tony Gaskins एक प्रेरक वक्ता (Motivational Speaker)  तथा लेखक ले सम्बन्ध र सम्बाद को बारेमा के भनेका छन् भने – Communication to a relationship is like oxygen to life. Don’t suffocate your relationship by not communicating.” अर्थात् जसरी अक्सिजनले हाम्रो जीवन रक्षाको लागि भूमिका खेल्दछ, त्यसरीनै सम्बाद ले पनि सम्बन्ध रक्षाको लागि अक्सिजनको भूमिका खेल्ने गर्दछ | सम्बाद बिनाको सम्बन्ध भनेको मृत तुल्य हुन्छ | भनिन्छ दुईवटा थाल एकै ठाउमा भयो भने एक अर्कामा टकरौंछ र कर्कस आवाज पैदा गर्दछ | त्यसरीनै सम्बन्ध पनि कहिले काँही टकराउन सक्दछ | यदि सम्बन्ध निभाई राखेको क्रममा त्यस्तो कुनै किसिमको समस्या वा मनमुटाब हुने सम्मको स्थिति कायम भएमा, त्यस परिस्थितिलाई कसरी नियन्त्रणमा राखें, त्यसलाई कसरी अभिव्यक्त गर्ने भन्ने तरिकाको बारेमा उनले केहि नियमहरु प्रस्तुत गरेका छन् |

 १ ) – के कुरामा मनमुटाब हुन गयो , त्यसको मुख्य बिषय के रहेको छ भन्ने कुरा को खोजि गर्ने | (Wait 1-24 hours to address the issue)

२) आफुले त्यस बिषयमा महशुस गरेको छु भन्ने खालको भनाई राख्ने (Use “I feel” statements)

३) पहिला आफुले बुझ्ने प्रयास गर्नुस र त्यसपछि के भएको हो भनेर बुझने   (Seek to understand, then be understood)

४) पालै पालो गरी बोल्नुस र एक अर्कालाई बोल्न मौका दिनुहोस बिचैमा रोक्ने काम नगर्नने  ( Take turns talking and do not interrupt)

५) एक अर्का प्रति चिच्याउने काम नगर्ने  (Do not yell)

६) एक अर्कालाई अपशब्द प्रयोग गरी, गाली गलौज नगर्ने  (Do not curse)

७) कुनै पनि तवरले मौखिक तथा भौतिक रुपमा हानी पुर्याउने गरी प्रस्तुत नहुने  (Do not attack verbally/physically)

यसका साथ-साथै सम्बन्धमा आदर सम्मान , इमान्दारिता , बिश्वास , बफादारिता पनि हुनु आवश्यक छ | यी कुराहरुले सम्बन्धमा अलंकार थप्ने काम गर्दछ | यी सबै कुरा बचाई राख्नको लागि भने सहि सम्बाद र अभिव्यक्त हुन जरुरी हुन्छ | यदि सहि तरिकाले प्रस्तुत गर्न सकिएन भने सम्बन्धमा दरार पर्न जान्छ र दरार सम्बन्धलाई अझै ओइल्याउन र जटिल बनाउनको को लागि बाहिरका तेस्रो पात्रले सक्रिय भूमिका खेल्न थाल्दछ |   

प्रेरक वक्ता (Motivational Speaker)  तथा लेखक Tony Gaskins ले भनेका कुरा हरुलाई यस चलचित्रको पात्र मालती र बुधे संग लगेर जोड्ने हो भने उनीहरु बीच सम्बाद र अभिव्यक्ति को कमी रहेको देखिन्छ | एक अर्का प्रति माया प्रेम, बफादारिता रहेता पनि प्रेमलाई कसरी अभिव्यक्त गर्ने भन्ने कुराको कमीले गर्दा उनीहरुले एक अर्का प्रति गर्नु पर्ने आदर सम्मानमा कमी आएको देखिन्छ | सम्बन्धमा आएको समस्याको मूल जड खोज्नु सट्टा आफु भित्र रहेको घमण्ड ले गर्दा  एक अर्का प्रति चिच्याउने , एक अर्कालाई अपशब्द प्रयोग गरी, गाली गलौज गर्ने, मौखिक तथा भौतिक रुपमा हानी पुर्याउने जस्ता कार्यहरु गर्न पुग्दछन् | आफुले गरेका गल्तिहरुलाई पहिल्याउँदै समस्याको समाधान गर्नुको साटो , चर्को स्वरमा भनाभन गर्न थाल्दछन् | यस्तै क्रियाकलाप ले गर्दा झगडा , रिसिबी अझै बढ्न थाल्दछ र दुवै जना शान्त बस्नुको साटो झगडाले अर्कै मोड लिन पुग्दछ | रिस को झोकमा मालती आफ्नो दुधे बालकलाई छोडेर मर्न भनेर घर छोडेर जान्छ | बुधेले पनि सम्झाउनु पर्ने मा उल्टै रिसको झोकमा उक्साउने काम गर्दछ |

 

कथामा तेस्रो पात्रको प्रवेश

दुई श्रीमान श्रीमती बीच भएको झगडामा अझै फाटो ल्याउनको लागि बाहिरी पात्र हरुको चहलखेल सुरु हुनु पुग्दछ | यसै क्रमम, बन्दीपुरे एक पुरुष पात्रको प्रवेश हुन्छ, जसले मालतीलाई मर्न बाट त जोगाउंछ तर आफ्नो स्वार्थको लागि प्रपन्चमा पार्दछ | मालती पनि रिस को आवेगमा त्यस अन्जान पात्रको साथमा लाग्दछ र नंया जीवन व्यतित गर्नको लागि आवेगमा निर्णय गर्न पुग्दछ | मालतीलाई लिएर त्यो बन्दीपुरे पात्र, त्यसै ठाउँमा अवस्थित एउटा होटेलमा लगेर राख्दछ , जुन होटेलमा बुधे जहिले रक्सी खानको लागि आउने गर्दछ | यसरी त्यस बन्दीपुरे पात्रले मालतीलाई आफ्नो होटेलको कोठामा ल्याएको देखेर , उसलाई पनि मालतीलाई आफ्नो प्रभावमा पार्न इर्ष्या जागृत हुँदछ | र बन्दीपुरे पात्रको अनुपस्थितिमा मालतीलाई आफ्नो वशमा पार्नको लागि मालती र बन्दीपुरे पात्रको बीच नभएको सम्बन्ध माथि लाल्छना लगाई उसलाई आफ्नो अस्तित्व, इज्जत  र सामाजिक प्रतिष्ठा माथि आंच आउने कार्य गरेको भनि हिनताबोध हुने खालको मानसिक प्रताडना दिन थाल्दछ | त्यस होटेल साहुले मालतीलाई बुधे बाट लुकाएर राख्न , मलातीले भने बमोजिमको कार्य त गर्दछ तर उसले आबेगमा गरेको निर्णयको फाईदा लिई मालतीलाई लाल्छना लगाई उसलाई हिनताबोध गर्ने कार्य गरी राखेको हुन्छ |

त्यस्तै गरी बुधे पात्रलाई आफ्नो बनाउनको लागि “भान्जी” पात्र लालयित हुन्छ | उक्त भान्जी पात्रलाई उक्साउने काम भने उनको मामा पात्रले गर्ने गर्दछ | मामाले ति भान्जी पात्रलाई बुधे संग बिवाह गराई दिनको लागि अनेकन प्रपन्च बुन्न थाल्दछन | यसरी दुई श्रीमान श्रीमती बीच फाटो आउंदा , त्यसलाई समाधान गर्नको लागि छर-छिमेकीले पनि उदाहरनिय भूमिका खेल्नु पर्ने मा अझै बढी दरार ल्याउने काम गर्दछ | यता मालती बुधे बाट लुकेर बसेको हुन्छिन् भने उता बुधेलाई ८ महिने दुधे बालकको लागि भए पनि उसको आमा खोज्न निस्कन्छ | उसको आमा पत्तो नलागेको भएर त्यस बच्चालाई फकाउनको लागि आमाचाहीं को फोटो काटेर झुण्डाएर हिंड्ने गर्दछ | तर मालतीसम्म त्यस कुराको खबर पुर्याई दिने त्यस होटेल साहुले भने गलत अर्थाई दिन्छन् | यसरी दरार आएको सम्बन्धमा बाहिरी व्यक्तिहरुको चहलखेलले गर्दा अधुरो , अपुरो खबरले झन् सम्बन्धमा फाँटो ल्याउने काम गर्दछ | सम्बाद र संचारको  अभावमा सम्बन्धमा झन् गलतफहमी बढ्न थाल्दछ | यो कुरा यस चलचित्र बाट छर्लङ्ग रुपमा पुष्टी हुन्छ |    

महिलालाई प्रस्तुत गरिएको चरित्र चित्रण

यस चलचित्रमा चाहे त्यो “मालती” पात्र होस् , चाहे त्यो “भान्जी” पात्र होस् उनीहरु महिला पात्र को रुपमा दुई फरक भूमिकामा देखा परेता पनि अरु तेस्रो  व्यक्तिको नजरमा भने उपभोग गर्न मिल्ने वस्तुको रुममा प्रस्तुत गरिएको छ | पूंजीवादी सिद्धान्त लाई अगाडी सार्ने हो भने, महिलाको शारीरिक बनावटलाई बाजारु वस्तु संग लगेर जोडिएको यस चलचित्र हेर्दा त्यस्तै भान हुन्छ | महिलालाई एउटा वस्तुको रुपमा उपभोगको साधन को रुपमा कसरी एक पुँजीपतिले आफ्नो वशमा पार्नको लागि प्रपन्चको जालो बुन्ने गर्दछ भन्ने कुरा यस चलचित्रमा देख्न सकिन्छ | “मालती” पात्र आफैमा हट्ठी, साहशी भएता पनि उसको पारिवारिक परिवेशलाई उसको कमजोरी बनाएर कसरी एक अन्जान पात्रले उसलाई आफ्नो बनाउनको लागि कदम चल्दछ | त्यसै गरी उसको त्यस कदमलाई कसरी हिनताबोध गराई, उसलाई आफ्नो जालमा शिकार गरेर उपभोग गर्न सकुन् भन्ने सोच त्यस होटेल साहु को दिमागमा मौलाउँदछ |

त्यसै गरी झन् “भान्जी” पात्र लाई त पुंजीबादी बजारको एक सानदार वस्तुको रुपमा खडा गरेको छ | जसलाई उपभोग गर्नको लागि भनेर पुँजीपति आफ्नो हातमा पैसाको बिटो लिएर लाइनमा उभिने गर्दछन् | अनि त्यसको मोल मोलाई भने “मामा” पात्रले गर्ने गरेको देखिन्छ | “मामा र भान्जी” को सम्बन्ध पवित्र हुनु पर्ने मा त्यहाँ झन् सौदा बाजी गर्न मामा पात्र अग्रसर रहेको देखिन्छ |

सानो भूमिका भए पनि निकैनै सहयोगी भूमिकामा देखिएको “सकुन्तला भाउजु” दलित तथा गरिब पात्रको भूमिकामा छिन् | “गोपाल” नाम गरेको उनको श्रीमान् “दलित उत्थान समिति” को अध्यक्ष हुन्छन् | आमाको दुध खान नपाएको “डमरु” भोकले रुन थाल्दछ | उसको भोक देख्न नसकेर बुधे भर्खरको ३ महिने सुत्केरी भएकी सकुन्तला भाउजुकोमा दुध खुवाउन को लागि लग्दछ | पहिला त दलित भएको कारणले क्षेत्रीको छोरालाई दुध खुवाउनको लागि हिचकिचाउंछिन् | तर बच्चाको भोकको अगाडी उनि सकुन्तला भाउजु बिबश हुन्छिन् र दुध खुवाउंछिन् | त्यस पछाडी त्यहाँ गोपाल र बुधे बिच यस्तो सम्झौता हुन्छ , एक हिसाबले सोच्ने हो भने, हुन त त्यो गलत होइन तर बच्चालाई आमाको पोषिलो दुध खुवाएको बदलामा सकुन्तला भाउजुलाई पोषिलो खाने कुरा दिनकै ल्याउनु पर्ने भन्ने माग गोपाल ले राख्दछ | यस दृश्यले पनि के देखाउँदछ भने पूंजीवादी बजार मा आमा को दुधको पनि मूल्य तोक्ने गरिन्छ |    

सन्तान प्रति आमा र बाबुको मोह

आमा जति सुकै सन्तान बाट टाढा नै किन बसुन् , उसको माया उतिकै लाग्ने गर्दछ | आफ्नो श्रीमान् संग झगडा गरेर आएको मालतीलाई , उनका श्रीमान् बुधेले आफु साथ सानो बालकलाई साथमा लग्न दिंदैन | सन्तानको वियोगमा छट्पटिएकी उनी सन्तानको मुख हेर्न लालाहित हुन्छिन् | बुधेले समय समय मा दुध पकाएर खुवायो कि खुवाएना यहि मात्र ध्यान हुन्छ | बच्चालाई आफ्नो दुध चुसाउन नपाएको र दुध गानिएको मालतीको भाव बाट प्रष्ट देखिन्छ | बुधे होटेलमा रक्सि खान आएको मौका छोपी होटेल साहुलाई भनि एकै छिन् भए पनि बच्चालाई ल्याइदिनको लागि आग्रह गर्छिन् |

बुधे रक्सिमानै बढी झुण्डिए पनि आफ्नो सन्तान डमरु लाई भने अतिनै माया गर्दछ | उसको आमाले छोडेर गएको भएता पनि त्यसको महशुस हुन नदिनको लागि धेरै प्रयास गर्दछ | आफ्नो आमाको झलक पाउनको लागि उ रोएरै भए पनि बिलौना गर्दछ | बुधेले पनि उसको भाव बुझेर , मालतीको फोटोको मास्क बनाएर आफ्नो अनुहारमा टासेर देखाउंछ अनि मात्र त्यो अबोध बालक चुप लाग्दछ | आफ्नो आमाको काख नपाएको त्यस बालक को लागि भए पनि बुधे उसको आमाको खोजीमा निस्कन्छ | आमाको दुध खान नपाएर भोकले छट्पटिएको बालकको रोदन सुन्न नसकेर , भर्खरै ३ महिनेकी सुत्केरी संकुन्ताला भाउजुको मा उसको दुध चुसाउनको लागि भनेर लाग्छ | आफु सानो छंदानै आमा गुमाएको बुधेले , आफ्नो बाबुले अर्को बिहे गरेर झन् दुख पाएको हुँदा, आफ्नो सन्तानलाई जस्तो दुख गरेर भए पनि हुर्काउंछु भन्ने सोच राखेको हुन्छ | त्यहि भएर मामा भन्ने पात्रले सन्तानको लागि भए पनि भान्जी संग बिहे गर्नको लागि अनेकन गर्दा पनि बुधे ले मान्दैन |

हुन त सन्तानलाई आमा बाबु दुबैको माया र साथ उतिनै चाहिन्छ तर आमा विना पनि बाबु एक्लैले भए पनि आफ्नो सन्तानलाई हुर्काउन सक्छ भन्ने बुधे एउटा उदाहरनिय पात्र हो ? सानैमा बाबु बित्दा होस् या बिछोड हुँदा उसकको आमालाई सन्तान हुर्काउन बिहे गर्नु पर्छ | बुवाको छत्र छाँयाको पनि जरुरत हुन्छ भनेर  कहिले नभन्ने हाम्रो समाजमा त्यहि आमाको सानैमा मृतु हुँदा वा बिछोड हुँदा चाँही  एकलैले सन्तान हुर्काउन गार्हो हुन्छ , बच्चालाई आमाको जरुरत पर्छ भनेर दोश्रो बिवाह गर्नको लागि सुझाब दिने गर्दछ | तर बाबुले पनि आफ्नो सन्तानलाई आमा जसरीनै समय दिएर सन्तानलाई हेरचाह गर्न सक्यो भने एकल बाबुले पनि आफ्नो सन्तानलाई राम्रो संग हुर्काउन सक्छ | त्यसमा बुधे को जीवन कहानी र उसको हट्ठी स्वभावले पनि यहि नै दर्शाएको छ | एकल बाबु पनि एक उत्कृष्ट बाबु हुन् सक्दछ |

 

सम्बन्धको यस जन जालोमा सम्बन्धको लागि चाहिने अलंकार र अभिव्यक्त गर्नको लागि चाहिने भावभंगी हरुको कमीले गर्दा सम्बन्धमा कसरी फाँटो आउन सक्दछ भन्ने कुरा यस चलचित्र मार्फत सिक्न सकिन्छ | दुवैलाई एक अर्का बिच माया, प्रेम र लगाब भएता पनि त्यस चिजलाई सहि तरिकाले वर्णन गर्न नसक्दा सम्बन्धमा फाँटो मात्र नभएर तेस्रो पात्रले पनि त्यस कुरालाई बढावा दिनको लागि ठाउँ पाउँदछ | एक अर्का बिच हुने मनमुटाबको जड लाई आफुहरु बिचनै समाधानको उपाएहरु खोज्नु पर्ने हुन्छ | रिसको आबेगमा निर्णय लिनु भन्दा बरु आफुलाई केहि दिनको समय दिएर, त्यस समस्याको समाधान गर्ने र पुनः त्यस्ता किसिमको समस्या दोहरिन नदिनको लागि के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने कुरामा दुवैको आपसी छलफल हुनु पर्दछ | 

Comments

Popular Posts