रजस्वला एक गौण सामाजिक बिषय



रजस्वला : आफैंमा एक अनुभूति  


रजस्वला एउटा सामान्य माषिक प्रक्रिया हो | यो सोचाइमा अनि लेखाइमा जति  सामान्य छ यो त्यतिनै जटिल छ | हेर्दा सामान्य लागे पनि रजस्वला  हुँदाको समय भनेको अतिनै संबेदनशील अवस्था हो | यो कसैको लागि अति पिडादाएक पनि हुने गर्दछ | रजस्वला हुनु भनेको स्वस्थ हुनुको संकेत हो | रजस्वला प्रक्रियाको लागि हर्मोनहरुले गर्ने कार्यले गर्दा मनोविज्ञानमा देखा पर्ने भावना, आवेग, संबेदनाको  अवस्था आफैमा अनौठो छ | यो अवस्था भनेको आफैले आफ्नो शरीरमा भएका गतिबिधिहरु थाहा पाउने माध्यम हो | आफैले आफ्नो मनोविज्ञानमा उठेका तरङ्गहरुको अनुभूति गर्ने समय हो | रजस्वला सृष्टिको सर्जक पनि हो | यसै प्रक्रिया मार्फत जीवाको प्राण अंकुरण हुने गर्दछ |

शरीर बाट रगत बग्ने अवस्था त बेग्लै छ , तर यस अवस्थामा हुने अनुभूति भने पीडादाईक रोमान्चकारी हुने गर्दछ  | आखिर पिडा कसरी रोमान्चकारी हुन गयो ? किन भने यसै पिडा मार्फत नारित्वको अनुभूति हुने गर्दछ | नारीको जन्म सृष्टिको लागि भएको हो | यहि आत्माबोधको कारण रजस्वला हुँदाको सबै पिडा जायज छ, स्वीकार्य छ | सृष्टिको बिउलाई संचय गर्नको लागि नियमित प्रक्रियामा जैविक तत्वले साथ दिनु भनेको, त्यो भन्दा रोमान्चकारी पल अरु कुन हुन सक्दछ र | त्यसैले यस पल लाई अझै बढी अनुभूत गर्नको लागि सायद महिनाको ति चार दिनलाई बिशेष क्षण मानिएको छ | यस अवस्थामा आफ्नो स्वास्थ्य प्रति बिशेष ध्यान दिनको लागि चार दिनको छुट्टी दिइने गरिन्छ | 


एतिहासिक अध्यात्म जगत 


रजस्वलाको अध्यात्मिक पक्षको बिषयमा छलफल गर्नु पर्दा यसलाई बिशेष घडीको रुपमा हेर्ने गरिन्छ | यसले नारीको शक्ति अनि साहसको प्रतिबिम्ब गर्दछ | प्राचिन समयमा पहिलो रजस्वला हुनुलाई उत्सबको बिषयको रुपमा हेर्ने गरिन्थियो| क्याथरिन स्मिथले "MyTinysecrets" भन्ने वेब साइटमा "The Secret Power Of Your Period Revealed" भनेर लेख लेखेकी छिन् जसमा उनले प्राचिन् अमेरिका का आदिबासी बासिन्दाले रजस्वलालाई कसरी हेर्ने गर्दथियो र अहिले आधुनिक समाजमा कस्तो नजरले हेर्ने गरिन्छ भन्ने बिषयलाई उजागर गरेकी छिन् र यस्तो अवस्थामा कसरी स्वस्थ जीवनयापन गर्न सकिन्छ भनेर सुझाब पनि दिएकी छिन् | उनको लेख अनुसार प्राचिन् समयमा अमेरिकाको आदिबासी बासिन्दाहरुले नारीको पहिलो रजस्वला लाई एक बिशेष प्रकारले हेर्ने गर्दथियो | पहिलो रजस्वला हुनु भनेको उसमा शारीरिक हिसाबले परिपक्कताको उमेरमा प्रवेश गर्नु हो, त्यसैले यस समयमा बिभिन्न विधिद्वारा पुज्ने गरिन्थियो | जसको मुख्य उद्धेस्य भनेको रजस्वला हुनु लाई सृष्टिको सर्जक मानिनु हो | त्यस्तै गरेर अफ्रिका को आदिबासी जाति "डोगन" समुदायमा रजस्वला भएको समयमा छुट्टै बस्नको लागि छाप्रो बनाएको हुन्थियो | यसको मतलब अपवित्रता को सोचको कारणले होइन कि बरु यस समयमा आफु भित्र रहेको अद्ध्भुत शक्तिलाई जागृत गर्नको लागि अभ्यास गर्नको लागि यस्तो छाप्रोको निर्माण गर्ने गरिन्छ | पुरुषहरु भन्दा महिलाहरु अद्ध्भुत चमत्कारी हुन्छन् भन्ने कुरा यस किसिमको प्रयोगले बताउने गरिन्छ | प्राचिन् समयमा महिलालाई नै शक्तिशाली चमत्कारीको रुपमा लिने गर्दथियो | र रजस्वलाको  समयमा यसको प्रयोग अनि अभ्यासको लागि उपयुक्त रुपमा लिने गर्दथियो | क्याथरिन स्मिथले अहिले आधुनिक जमानामा आएर चाही अध्यात्मिक शक्तिको प्राचिन् ज्ञान लोप भएको छ | जसको मुख्य कारण भनेको यस बिषयको बारेमा पुस्ताहस्तान्तरण नहुनु हो |  

पुर्विय दर्शनको बिषयमा चर्चा गर्नु पर्दा महिनावारी समयलाई संबेदनशील अवस्थाको रुपमा हेर्ने गरिन्छ | यस अवस्थामा महिलाको शरीर कमजोर हुने भएको हुनाले चार दिन सम्म गरिने हरेक काम काज बाट अलग गराई आराम गर्नको लागि छुट्टै कोठाको व्यवस्था गर्ने गरिन्छ | नेपाल देश पनि अध्यात्मिक शक्तिको प्रयोग अनि साधनाको अभ्यासमा निकै सबल देखिन्छ | अफ्रिका अनि अमेरिका राष्ट्रमा आदिबासी बासिन्दाले गर्ने गरेको क्रियाकलापलाई मध्यनजर गर्ने हो भने, महिनावारी भएको समयमा चार दिन अलग स्थानमा बस्न लागाउनु पनि अध्यात्मिक चिन्तन अनि शक्ति माथिको अनुभूति गराउनु लाई बनाइएका नियमको रुपमा मान्न सकिन्छ |

धर्म संग जोडिएका अध्यात्मिक पक्ष 

धर्ममा रजस्वला हुनुलाई अपवित्रता को प्रतिकको रुपमा हेर्ने गरिन्छ | रजस्वला भएको अवस्थामा स्वास्थ्य अनि सरसफाई लाई मध्यनजर गर्दै बिभिन्न नियमहरु बनाएका छन् तर कालान्तर मा आएर यस्तो व्यवहार छुवाछुतको रुपमा देखा पर्न थालेको छ र रजस्वला हुनुलाई पापको संज्ञा दिएको छ | रजस्वला हुनु र यसको बारेमा चर्चा गर्न बन्देज लगाइएको छ | रजस्वला लाई पापको संज्ञा दिएर महिलालाई यस अवस्थमा तल्लो स्तरको मान्छेको रुपमा उभ्याएको छ | "Dangerous Wives and Sacred Sister" भन्ने पुस्तक मा Lynn Bennett ले ब्राम्हण जातिको महिलाहरुको जीवनीको बारेमा उजागर गरेकी छिन् | यस पुस्तकको एक अंशमा रजस्वला लाई किन पापको रुपमा ब्याख्या गरियो भन्ने बारेमा धार्मिक पक्षलाई समेटिएको छ | र सामाजिक रुपमा ब्राह्मण जातिको उच्च वर्गको महिला भए पनि रजस्वला भएको समयमा दलित सरह व्यवहार गरिने र आफु दलिद जस्तो भान हुने कुरा उल्लेख गरिएको छ | यस पुस्तकमा उल्लेख गरे अनुसार रजस्वला भएको तीन दिनलाई अशुभको रुपमा हेर्ने गरिन्छ भने चार दिनको दिनमा चोखिने हुनाले एकदमै पवित्र अनि सृजनात्मक मानिन्छ | चौथो दिनमा बिधि पुर्बक चोखो भै सहबासको लागि एकदमै उपयुक्त दिनको रुपमा मान्ने गरिन्छ भनेर ब्याख्या गरिएको छ | 

धार्मिक रुपमा महिनावारीलाई अपवित्रको संज्ञा दिएर यस बिषयमा खुलेर चर्चा गर्न समेत असहज परिस्थिति सिर्जना गरिदिएको छ | जसले गर्दा रजस्वला स्वास्थ्य अनि सरसफाईको बारेमा ज्ञान नहुँदा समस्या पर्ने गरेको छ | सामाजीकीकरणको अभ्यासले गर्दा आज रजस्वला सम्बन्धि छुवाछुतको व्यवहार बढेको छ | तर वास्तविक रुपमा धर्मको चर्चा गर्ने हो भने, भारतको आशाम राज्यको कामाख्या देवी मन्दिरको चर्चा गरिनु पर्दछ | भलै सामाजिक कारणले गर्दा रजस्वला भएको समयमा मन्दिर प्रबेशमा रोक लगाइएको छ तर रजस्वला लाई भने बिशेष प्रकारले पुज्ने गर्दछ | कामाख्या देवी भौतिक तथा धार्मिक रुपमा रजस्वला हुने गर्छिन् | प्रत्येक वर्ष अषाढ महिनामा रजस्वला पर्ब धुमधामका साथ मनाइने गरिन्छ | देवी रजस्वला भईन भनेर नदीमा प्रतीकको रुपमा रातो अविरले रंगाउने गरिन्छ | यो दृश्य हेर्नको लागि बिभिन्न ठाउँ बाट हेर्नको लागि घुइंचो लाग्ने गर्दछ | 


सामाजिक कथन


सबै समाजमा रजस्वला सम्बन्धि एकै खालको कथन भेटिंदैन | जात-जाति, धर्म अनि बासस्थानका आधारमा फरक खाले मत पाइने गरिन्छ | कुनै समाजमा रजस्वला हुनु भनेको पापनै हो, यस समयमा रितिथिति अनुसार नियम पालना गरिएन भने कुल देवी देवता रिसाउँन्छन् भनेर अलग गोठमा गई बस्ने चलन अहिले सम्म सुदुरपश्चिमका गाउँहरुले मान्दै आएका छन् | त्यस्तै गरेर आदिबासी जनजाती समुदायमा भने यस्तो किसिमको व्यवहार देखिन्दैन| तर समाजमा देखे भएका कुराको अनुशरण गर्ने बढ्दो प्रचलन देखिएको हुनाले, अरु समुदायमा पनि रजस्वला सम्बन्धि भ्रम फैलिएको छ र सामाजिक रुपमा बन्देज लगाएको छ | रजस्वलालाई एकदम गौण बिषयको  रुपमा हेरिंदा यस बिषयमा कुरा गर्नु पनि बर्जित मानिएको छ | जसले गर्दा रजस्वला भएको समयमा आफ्नो स्वास्थ्यको हेरचाह कसरी गरिनु पर्दछ, सरसफाई कस्तो किसिमले गर्नु पर्दछ, कस्तो खाले पोषक तत्वको सेवन गर्नु पर्दछ भन्ने कुरामा समेत अनभिज्ञ हुनु पर्ने बाध्यता रहेको छ | शहरी जीवनमा समेत सामाजिकीकरणले गर्दा महिनावारी स्वास्थ्य शिक्षा अनि यसको बारेमा खुलेर कुरा गर्न अहिले सम्म पनि यस बारेमा संकीर्ण सोच पाइने गरिन्छ |


यस्ता किसिमको भ्रम, दुर्व्यवहार, सामाजिक बन्देज हटाउनको लागि शसक्त कदम आफै बाट गर्नु पर्ने देखिन्छ | सामाजिक तथा स्वास्थ्य शिक्षाको रुपमा हरेक बिद्यालय, घर, समाज तथा आपसी जमघटमा पनि यस बिषयमा खुलेर कुराकानी गरिनु पर्दछ | रजस्वलालाई जटिल बिषय नभएर चिया गफ- गाफ गर्ने बिषयको रुपमा सहज वातावरण सृजना गरिनु पर्दर्छ | जसले स्वस्थ समाज निर्माण गर्नमा टेवा पुर्याउन मद्दत पुग्दछ |

           #
रजस्वलाको  बिषयमा खुलेर चर्चा गरौँ, स्वस्थ र सफा रहौँ |







Comments