महिलाबाद: आफ्नो शरीरसंग गर्नु पर्ने मायाको बोध



माया, कस्तो भन्दा आफै संगको माया, सुन्दा खेरि कस्तो कस्तो लाग्न सक्छ यो कस्तो खाले माया हो आफै संगको भनेर | तर म यहाँ कुरा जोड्दै छु आफ्नै शरीर संगको मायाको त्यो पनि स्वास्थ्यकसंग सम्बन्धित बिषयमा जोड दिएर | केहि महिना अगाडीको कुरा हो “द असम वुमन” कार्यक्रमका आयोजक तथा वोर्किंग एज एन्जल का अधक्ष्य शिवानी भि. माया ले भन्दै थिइन् कि हामी मान्छे त्यसमाथि महिला भए पछी आफै संग पनि माया गर्न जान्नु पर्छ अनि मात्र हामी अरु कसैलाई माया दिन सक्छौं, बाढ्न सक्छौ | जब हामी आफैलाई नै माया गर्दैनौ र आफै संग माया छैन भने कसरी अरुलाई दिन सक्छौ ? त्यहि भएर पहिला हामी आफैलाई माया गर्न जान्नु पर्छ अनि मात्र अरुलाई माया गर्न वा दिन सक्छौ | यहि भनाईलाई प्रसङ्ग बनाएर आफ्नो शरीर संगको माया, त्यसको स्याहार सुसार अनि शरीरले हर्मोन मार्फत गर्ने सांकेतिक संचारको कुरा लाई समेट्न चाहन्छु |

हामी महिला भई सके पछि कतिको हाम्रो शरीर लाई हामीले ध्यान दिन्छौ त | नियमित नुहाउने, सफा लुगा लगाउने र शृंगार गर्नु यो हाम्रो दैनिकी नै हो | यो भन्दा बाहेक को प्रसङ्गलाई यहाँ जोड्न चाहन्छु, हामी महिला हाम्रो बढी समय साज सज्जा र शृंगारमा नै खर्चन्छौ, त्यसमा पनि अलिकति पनि ध्यान दिंदैनौ कि, ति बाजारु शृंगारको सामानले हाम्रो मुहारको त्वचा संग कतिको मित्रवत व्यवहार गरेको छ ? बस हामीलाई राम्रो देखिनु मात्र पर्छ, हामीले प्रयोग गरेका बस्तु कतिको गुणस्तर युक्त छन् भनेर हेर्न अधिकांशको ध्यान नै जान्दैन बस हामीलाई अरुको देखा सिखी गर्न पाए पुग्छ | यो त भयो सामान्य रुपमा हामीले हाम्रो शरीरको आवरण संग गर्ने हेल्चाक्राई |

कुरालाई अगाडी जोड्नु पर्दा हाम्रो शरीरले हामीलाई के भन्दै छ, हाम्रो शरीरले हामीलाई बेला बेलामा कस्तो सङ्केत दिने गर्दछ भनेर कहिले बुझ्न खोजेका छौं ? यदि बुझ्न खोजेका थियौं भने महिनाबारी हुनु पुर्ब हुने सङ्केत (प्रि-मेंसुरल सिन्ड्रोम) लाई बुझ्थियौ होला कि अब को केहि दिनमा मेरो महिनावारी हुँदैछ त्यहि भएर मेरो मन बेचैन छ, शरीर गलेको छ, बेला बेलामा झोकिने गर्छु, रिसाउने पनि गर्छु, कम्मर दुख्न थालेको छ, काम गर्न पनि मन लागेको छैन, खानामा रुची छैन, चिन्तित अनि संबेदनशील पनि भएको छु | प्राकृतिक रुपमा हुने महिनावारी चक्रलाई निरन्तरता दिन उत्पन्न हुने हर्मोनको कारणले हुने यी सङ्केतलाई बिरलै हामीले जान्ने कोशिस गरेका छौं, त्यहि भएर नै यस्तो अवस्थामा सहनशीलता अपनाएर व्यवहार गर्न सक्दैनौ, न त अरुलेनै यो कुरालाई बुझ्न सक्दछ | बुझोस् पनि कसरी हामीले यस बिषयलाई छलफलको रुपमा कहिले उठाएका नै छैनौ, भने कसरी बुझ्छौ | हामीले हाम्रो शरीर लाई कतिको माया गर्छौ भन्ने कुरा आफैलाई तब खुलेर थाहा हुन्छ जब हामीले महिनावारी हुँदाको समय मा कतिको खानपान मा ध्यान दिन्छौ | के कुरा खानु हुन्छ र के कुरा खानु हुँदैन परै जावोस् बजारमा पाइने चिल्लो, पिरो, अमिलो देखि लिएर चिसो पेय अनि माहोल हेरेर मध्यपान सम्म गर्छौ | त्यस बेला रक्तश्राब हुँदा प्रयोग गरिने घरेलु प्याड देखि लिएर बाजारु प्याड कस्तो अनि कति समय सम्म प्रयोग गर्ने भन्ने कुरा पनि ध्यान दिंदैनौ | बजारु प्याडहरुमा  दुर्गन्ध रहित बनाउन र  रक्तश्रव को बहाबलाई सोस्नको लागि बनाएका हुनाले त्यसमा रासायनिक पदार्थ मिसाएको हुन्छ, जसले हाम्रो शरीर लाई नकरात्मक असर पर्न जान्छ | त्यस्ता कार्य बाट हुन सक्ने सम्भावित संक्रमण देखि लिएर पाठेघरको तथा पाठेघरको मुखको क्यान्सर को जानकारी हामी कतिको राख्ने गर्दछौं ?  

यी सामान्य कुरा हुन् तर यसले लिन सक्ने बिकराल रुपलाई हामीले अनुमान सम्म पनि गर्न खोज्दैनौ | माशिक धर्म नियमित अन्तरालमा हुनु भनेको हाम्रो शरीर स्वस्थ छ है भन्ने सङ्केत गर्नु हो | जब हामी महिलामा यो माशिक धर्म नियमित रुपमा भई निश्चित समय पछि बन्द हुन जान्छ जसलाई अंग्रेजीमा मोनो पंज भनिन्छ, त्यो बेलाको समय देखि शरीर मा कमजोरी उत्पन्न हुन जाने , आँखामा कमजोरी पैदा हुने, बढी संबेदनशील हुने, ढाड कम्मर दुख्ने, चिडचिडापन बढ्ने देखि लिएर युरिन इन्फेक्सन सम्म हुने हुन्छ | तर यी कुरालाई भने हामीले ध्यान दिन सकेका छैनौ |
महिनावारीकै कुरा संग जोड्नु पर्दा यहाँ स्तन क्यान्सर लाई पनि जोड्न चाहन्छु | आफनै शरीरको एउटा अमुल्य भाग स्तनले होर्मोनल परिवर्तन संग दिने संकेतलाई कतिको खयाल राख्ने गरेका छौ | जब महिनावारी हुनको लागि हर्मोनले काम गर्न थाल्दछ तब हाम्रो स्तन पनि बिस्तारै कडा अनि कसिलो हुदै जान्छ | यसै क्रम संगै महिनावारी भएको चौथो दिनमा हाम्रो स्तन नरम हुन्छ र हामी आफैले आफ्नो स्तनमा स्पर्श गरेर स्तन क्यान्सरको सङ्केत लाई पढ्न सक्छौ | यो कुरालाई हामीले नियमित रुपमा गर्ने हो भने डर लाग्दो तर समयमै थाहा पाई उपचार गर्न सक्यौं भने निको हुने रोगको पहिचान गरी समयमा नै उपचार गर्न सक्छौ |

यस्तै आफुलाई माया गर्ने बिषयमा अलिकति यौन जीवन अनि गर्भ पतनलाई जोड दिन चाहन्छु | यौन शिक्षाको अभाव भनौ या समाजको संकोचित विचार अनि त्यसले उत्पन्न गराई दिएको साँघुरो घेरा भित्र रहेर गरिने यौन अनुभूतिले हामीले आफ्नो शरीर संग कसरी खेलबाड गरी राखेका छौं भन्ने कुरालाई बुझ्न सकिन्छ | किशोर अवस्थामा गरिने यौन अनुभूतिले निम्त्याउन सक्ने सम्भावना भनेको असुरक्षित सम्बन्धले हुन सक्ने गर्भ धारण या त यसलाई रोक्नको लागि प्रयोग गर्ने पिल्स चक्की हो | पिल्स चक्कीको प्रयोगले हाम्रो स्वास्थमा कस्तो नकारात्मक असर गर्दछ भन्ने कुराको बिषयमा स्वास्थ्य खबरको अनलाईन पत्रिकामा डा. मिरा हाडाले प्रष्ट पारेकी छिन् | यसरी असुरक्षित रुपमा गरिने यौन क्रियाकलाप द्वारा गर्भ धारण गर्न पुग्दा गरीने गर्भपतन त्यो पनि गैरकानुनी रुपमा गरिने यस्तो कार्य कतिको स्वास्थ्यबर्दक छ त्यो हामी आफैले सोच्नु पर्ने कुरा हो | र यस्ता कार्य किशोर अवस्थाका व्यक्तिले मात्र  होइन परिपक्कता भएको व्यक्तिले पनि सुरक्षित साधन प्रयोग नगरिकन गरिनाले हामी महिलाको शरीरमा पर्न जाने समस्याको बारेमा हामी स्वयम् पनि ख्याल राख्दैनौ अरुको कुरा त परै जाओस् | यस्तो कुरा हामी आफै महिलाले नै सचेतना अपनाउनु जरुरी देखिन्छ | किनभने हामी महिलाले नै आफ्नो शरीर संग माया गरेनौ भने अरु कसले गर्दछ | यसमा हामीले ध्यान पनि दिन सक्नु पर्दछ |

बाल्यकालमा बिवाह भइ हुन जाने यौन सम्बन्ध, अपरिपक्क उमेर मा हुने सन्तानको जन्म, उचित स्याहार सुसारको कमि अनि भारी भरकम काम को बोझले हुन जाने हामी महिलाको अर्को समस्या भनेको पाठेघर खस्ने यानिकी आंग खस्ने रोग जुन जटिल रुपमा देखा परेको एउटा समस्या हो | यसरी सर सरति हेर्दा के  हामीले आफ्नो शरीरलाई माया गरेका रहेछौं त ?

जन चेतनाको ज्योति घर दैलो सम्म नपुगेको अवस्थामा यस्ता यावत् समस्याले हामी महिलालाई सताई नै राख्दछ | हामीले आफुलाई राम्रो संग हेर्ने अनि माया गर्ने समयनै दिंदैनौ र यसमा खासै मतलब पनि राख्दैनौ, जसले गर्दा हामी समस्यालाई संग संगै लिएर हिंड्न बाध्य हुन्छौ | एक त सामाजिक जन चेतनाको कमि, त्यसमाथि गरिबी, व्यस्त जीवन अनि आधुनिक शिक्षामा व्यवहारिक ज्ञानको बिषयलाई नसमेट्नाले नै हामीलाई थाह हुन्न कि हामीले आफ्नो शरीर लाई किन माया गर्नु पर्छ र कतिको माया गर्नु पर्छ | 

आखिर मायामा नै जीवन अड्किएको छ भने त्यो माया अलिकति किन आफै संग नगर्ने ? किन अलिकति समय आफुलाई नछुटाउने ? किन आफै संग कुरा नगर्ने ? किन हाम्रो शरीर ले हामीसंग भन्न खोजेको कुरालाई ध्यान नदिने ? किन ती संकेतलाई नसुन्ने ? एक चोटी आफैलाई समय छुटाएर आफैलाई हेरौ त्यस पछि थाहा हुन्छ हाम्रो शरीरलाई हाम्रो मायाको कतिको खाँचो छ | एक चोटी आफ्नै शरीरको तरङ्ग संग कुरा त गरेर हेरौ के भन्दै छ भनेर, बस त्यहि दिन देखि समस्या बाट मुक्त हुन सक्छौं | सम्भावित दुर्घटना बाट बच्न सक्छौं |  स्वास्थ्य लाभ गरी खुसि र सुखी जीवन यापन गर्न सक्छौ | यसको लागि केवल आफुले आफुलाई माया गर्न जान्नु पर्छ र सिक्नु पर्छ |

Comments