कर्कश पात्र संगको भेट

मोटो जिउडाल, गोरो वर्ण को एकजना अधबैसे महिला हेर्दा धनाढ्य परिवारकै देखिन्थिन | आफ्नो केहि समस्याहरु सहित  झारफुक गर्नको लागि पालो कुर्दै बसी राखेकी थिइन् | हुन त्  झारफुक गर्ने केन्द्रमा आफ्नो समस्या लिएर जाने मान्छे थुप्रै थिए तर उनी भने अरु मान्छे भन्दा भिन्न थिइन् र मेरो नजरमा मात्र होइन सबैको नजरमा उनि फरक देखिन्थिन् | उनको बोलीको प्रभाव सबैमा देखिएको थियो सायद त्यहि भएर होला उनि मेरो लेखको आज "बिशेष पात्र" बन्न पुगिन् | उनको समस्या उनको शरीर अनि बिरामी हुनु सम्म मात्र थिएन, व्यापार अनि पारिवारिक समस्याहरुको जालो थियो | उनि त्यहाँ यसरी प्रस्तुत भइन् की उनको परिवारको गोप्य हुनु पर्ने कुरा पनि छाता छुल्ल भइ दिए | सायद यस्तै कुराले गर्दा मलाई उनको स्वभाब शब्दमा वर्णन गर्न मन लाग्यो |

भगवान् अनि झारफुक गर्ने ती बैद्य ( ललितपुरकै प्रतिष्ठित बैद्य परिवाको ) प्रति उनको एकदमै बिश्वास  रहेछ | बेला बेलामा कुरा गर्दा विभिन्न देवी देवताका नाम लिने गर्थिन आफ्नो भलो होस् भनेर | आफ्नो अनि आफ्नो छोरीको राम्रो गराई दिनु पर्यो भनेर गुर्ज्यु संग बेला बेलामा भनि रहन्थिन् | उनलाई मात्र हेर्न आधा घण्टा लाग्यो अनि के कुरा भयो र मैले एउटा पात्र पाए जस्तै लाग्यो | अब कुरा यस्तो छ कि यहाँ भलो संगै अरु व्यक्ति प्रति दोष प्रकट पनि भइरहेको थियो | कुरा हो उनको छोरी को | राणा परिवारकी रहिछिन् उनी, आधा घन्टाको उनको गनगनले थाहा पाई हालियो | उनको परिवारले छोरीलाई धेरै सुख संग पालन पोषण गरेर हुर्काएको रहेछ | हुन त  राणा परिवारको धनी नै होला !  उनले भन्दै थिइन  उनको छोरीलाई हिराको हार लगाएर हुर्काएकी रे , केहि काम गर्नु पर्दैन थियो रे अहिले बिहे पछी भात पकाउनु पर्यो अनि भाण्डा माझ्नु पर्यो भन्दै गुनासो पोख्दै थिई |

उनको कुरा सुन्दा उसको छोरीको बिहेको उनलाई चित्त बुझेको जस्तो लाग्दैन | खै बिहे पनि कसरी भयो भन्नु ? एम्.ए गरेकी छिन् रे उनको छोरीले माग्न आएको एक महिना भित्र रित पुर्याएरनै बिहे भएको रे | तर उनलाई चित्त नबुझेको कुरा बुझ्न सकिएन | एकजना सन्तान पनि भैसकेको रहेछ उनको छोरीको तर ज्वाई अनि उनको परिवारलाई भने मन पराउदिन रहिछ | उनि भन्दै थिइन् बिहे गरे देखि छोरीको अनुहारमा कहिले मुस्कान देखिनन् रे जहिले पनि रुन्छिन रे | हुनत आमाको मन न त हो छोरी प्रति संधै माया राख्छिन् | छोरीको आँखामा कसरी आँशु देख्न सक्थिन  र | तर उनको बोलीको शैली हेर्दा यस्तो लाग्थियो उनलाई उसको छोरी प्रति अन्धो माया  अनि आफु धनाढ्य हुनुमा धेरैनै घमण्ड थियो | जसले गर्दा उनमा कुटुम्ब प्रति नकारात्मक भावना पैदा गराई दिन्थियो  |

बस् मैले यहाँ के प्रसंग जोड्न खोजेको हो भने , एउटा महिला भएर अर्को महिलाको सुख शान्तिको लागि कसरी अर्को तेश्रो महिला प्रति सङ्का अनि रिसिपिको भावना राख्दछ | भन्नलाई भन्ने गरिन्छ घर सपार्नु अनि बिगार्नुमा एउटी महिलाको ठुलो हात हुने गर्दछ | यस्तो सामाजिक सोचाई बाट बनेको हाम्रो संरचनामा महिलामा व्यवस्थापन गर्ने क्षमता हुनु पर्दछ र उनले अग्रणी भूमिका खेल्नु पर्दछ | तर हुन्छ त के भन्दा महिलानै महिलाको दुखको कारण बनि दिन्छ | हुन त पितृसत्ताले जकडिएको हाम्रो सामाज, त्यसमाथि पनि पुरुष जहिले सहि अनि महिला जहिले पनि गलत हुन्छन भन्ने संकीर्ण सोचाई बाट ग्रसित हामी महिला जहिले पनि आफ्नो दुश्मन महिलानै ठान्ने गर्दछ | यस्तै ति कर्कश पात्र पनि आफ्नो छोरीले  दुख पाउनुको दोष जेठानीहरुलाई लगाउदै थिइन्  | जेठाजु हरु  हेर्दा त् त्यस्ता छैनन् , जेठानी हरुनै मिलेर मेरो छोरीलाई दुख दिन्छन | भन्न् त मेरो छोरीले दुख बिसाउदैन तर म सबै कुरा बुझ्छु | त्यहि भएर छोरीलाई घर पठाउने उनको मन नै छैन रे | उनको इच्छा थियो उनीहरुको सम्बन्धनै बिच्छेद गर्न पाए देखि राम्रो हुन्थियो | तर के गर्नु मेरो छोरीले मेरो कुरा नै सुन्दैन | पहिला त त्यस्ती थिइन् मेरो छोरी गुर्ज्यु, झारफुक गरेर मेरो छोरीले मेरो कुरा सुन्ने बनाई दिनु पर्यो |

उनको कुरा सुन्दा त मलाई यस्तो लाग्यो उसको छोरीको दुखको कारण उनीनै हुन् | एम. ए गरेकी उनको छोरीमा के गर्दा ठिक हुन्छ र के गर्दा गलत हुन्छ भन्ने कुराको राम्रो संग ज्ञान हुनु पर्दछ | त्यहि भएर पनि होला उनको घरको बारेमा नराम्रो कुरा गर्दा आफ्नी आमाको कुरा नसुन्ने भएकी | आफ्नो श्रीमान अनि परिवार प्रतिको लगाबले गर्दा होला आमाका ति तिखर वाणी सुन्ने इच्छा नभएको तर उनको आमाको मन भन्ने अर्कै छ | एकातर्फी सुनेको कुराले यसरी मैले आफ्नो तर्क दिंदा म गलत पनि हुन सक्छु, तर एउटा मात्र के कुरा भन्न चाहन्छु भने एउटा महिला भइसके पछी अर्को महिला प्रति सकारात्मक सोच राखौ र संधै सहयोगी भावना मनमा राखौं | यसै त हाम्रो समाजमा महिला पिछडीएको छ, हामीले नै आफु उकास्ने बाटोमा नलागे आखिर कसले लगाई दिन्छ र ? जुन पितृसत्ताको सोच महिलामा ज्यादा हावी हुने गर्दछ त्यस्तो सोचाइलाई हामीले प्रह्रस्था गर्न सक्नु पर्दछ | अनि मात्र हामीलाई जकड़ीने जालो बाटो उन्मुक्ति पाउछौ |

Comments