उत्तरको खोजीमा अपूर्ण लेख

सभ्यता र परम्परा संग जोडिएको हाम्रो संस्कृतिले शब्दको चयन गर्दछ र त्यो भाषाको रुपमा परिणत हुँदछ, अनि परिभाषित पनि गरिन्छ | त्यस्तै समाजमा महिला र पुरुषभन्ने शब्दको जन्म भयो | मानिसको रुपमा जन्म भएता पनि जैविक विविधताले गर्दा महिला र पुरुषको नामकरण गरियो | सृष्टि संचालनको लागि प्राकृतिक रुपमा विविधता भएको कारणले दुवै एक अर्काका परि पुरक बन्न पुगे | यसरीनै सृष्टिको सृजना भयो र निरन्तरता पाइराख्यो | यस्तै स्वभाविक गुणका कारण सामाजिक रहन सहन संचालनको गर्नको लागि कामको बांडफांड भयो | महिलाले गर्ने भनेर निश्चित काम अनि पुरुषले गर्ने भनेर निश्चित कामको विभाजन भयो | यसरी लैंगिकता भन्ने शब्दको जन्म भयो जसमा महिला अनि पुरुषले मात्र स्थान पाएको छ | तर यसै बीच समाजमा भएको अर्को प्राकृतिक सत्यको बारेमा समाजले परिभाषित गर्न भने हच्किएको छ | तेश्रो लिंगी भनौ या परालिंगी, समलिंगी अनि दुइलिंगी, समाजले कहिले पनि उनीहरुको अस्तित्वको बारेमा पर्दामा उतार्न चाहेनन् | किनभने उनीहरु सभ्य समाज निर्माता भनौदाहरुले परिभाषित गरेको भन्दा भिन्न गुण भएका थिए | समाजका विशिष्ट अहोदामा बसेकाहरु उनीहरुलाई स्वीकार गर्न नचाहँदा कैयौ वर्ष अन्धकारमा तड्पिनु पर्यो | समाजले परिभाषित नगरेको हुँदा आफ्नो छुट्टै पहिचानको बारेमा उनीहरु पनि बोल्न सकेनन्, यसरी इतिहासको एउटा अध्याय समाप्त भयो |

सामाजिक इतिहासले जस्तो सुकै परिभाषा अनि वर्णन गरेको भएता पनि धार्मिक ग्रन्थ अनि त्यसको पृष्ठ पल्टाउने जमर्को गर्यों भने उनीहरुको अस्तित्वको झल्को पाउन सकिन्छ | हाम्रो पूर्वीय दर्शनमा उनीहरुलाई किन्नर, किन्नरीको रुपमा परिचित गराएको पाइन्छ | “महाभारतएक ऐतिहासिक धार्मिक ग्रन्थमा समेत श्रीखंडीपात्रको रुपमा एक किन्नरको अस्तित्व अनि भूमिकाको बारेमा प्रष्ट रुपमा वर्णन गरिएको छ | हिन्दु अनि मुस्लिम बंशावली हेर्ने हो भने किन्नर लाई महारानीहरुको कक्ष अंत:पुरअनि हरममा सुरक्षा कर्मिको रुपमा तैनाथ गरिने इतिहास समेत पाइन्छ | यसरी इतिहासलाई पल्टाएर हेर्ने हो भने किन्नरको स्थान त्यो समयमा अहिलेको भन्दा धेरै विशिष्टको पाइने गरेको छ | उनीहरुको अस्तित्वलाई स्वीकारिएको अवस्था छ | तर किन अहिलेको आधुनिक समाजमा भने उनीहरु पुन: आफ्नो अस्तित्वको परिभाषा अनि चिनारीको लागि संघर्ष गर्न परि रहेको छ | समाजको एउटा पाटोले अस्तित्व स्वीकार गरिएको छ भने अर्को पाटोमा भने किन भौतारिनु पर्यो ? आखिर के कुरा उनीहरुको बाधक बन्न पुगे त् ? किन उनीहरुको चिनारी समाजको एउटा अन्धराकर कुनामा लुक्न पुगे ? यसको उत्तर भने खोज्नु आवस्यक छ |

Comments