दशैं: भिन्न यथार्थ

दशैँ भन्नाले असत्य माथि सत्यको विजय प्राप्तिको रुपमा मान्ने गरिन्छ | दानब चरित्रको अन्त्य पछी सबैमा सुख, शान्ति अनि सम्वृद्धि छाओस् भन्ने हिसाबले हर्ष बढाईका साथ मनाउने गरिन्छ | दशैँ किन मनाउन सुरु गर्यो र दशैँ किन मान्नु पर्छ भन्ने सन्दर्भ...समय अनुसार आएको परिबर्तनका कारण, यसको अर्थ सबैलाई महत्व राख्छ भन्ने छैन | सामान्य अर्थमा दशैँलाइ परिभाषित गर्ने हो भने, दशैँ भनेको मिठो मिठो पकवान खाने , नयाँ लुगा लगाउने अनि त्यसमाथि पनि मासु  दशैको मुख्य आकर्षण रहने गर्दछ | 

अरु दिनमा भन्दा दशैंमा मासु जन्य पशुहरुको व्यापार बढी हुने गर्दछ | मासु नखाईकन पनि कतै दशैँ मानिन्छ ! भन्ने मान्यता बोकेको कारणले गर्दा पनि होला, यस समयमा बढी मासु खपत हुने गर्दछ | मासु नै दशैको मिठो पकवान हुने गर्दछ | त्यस्तै गरी एक जोर भए पनि नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यता पनि व्यापक रुपमा पाइने गर्दछ | जसले गर्दा दशैंमा साना कपडा ब्यापारी देखि लिएर ठुला महल (shopping complex) हरुमा मानिसहरुको भिड लाग्ने गर्दछ | दशैँ तिहारको चाडबाडको अवसरमा बिशेष छुट पनि  राखेको हुन्छ | जसले गर्दा मानिसहरुको भिड ब्यापारीहरुले थामी नसक्नुको  हुन्छ | यसरी ठुलो चाडको रुपमा मनाइने दशैंमा ब्यापारीकरण हुँदै आएको हुनाले दशैँ अब विजय उत्सवमा  मात्र सिमित रहेन | यहाँ त दशैंको नाममा ब्यापारी हरुले धन कमाउने मेलो पाएको छ | सामान्य बेलमा भन्दा पनि चर्को मूल्य तिर्नु पर्ने बाध्यता ग्राहकको रहने गर्दछ | यसरी धन कमाउने मेलोमा राखिएको बिशेष छुट पनि ग्राहकलाई चर्को पर्न जान्छ | तर के गर्नु दशैं त मान्नै पर्ने छ | आफ्नो आम्दानी अनि हैसियत अनुसार खर्च गरेर पाहुनाको स्वागत गर्नु नै छ | समाजमा आफ्नो अस्थित्व देखाउन भए पनि गोजी रिताउनै पर्ने बाध्यता अघि सर्दै आएको छ |

दशैं सन्दर्भको कुरा गर्नु पर्दा, समाजमा भएको यथार्थ चित्रण गरिएकोले गर्दा होला, दशैको बेलामा देखाइने नाटक पनि मासु र नयाँ लुगामानै सिमित रहने गर्दछ | दशैंमा आफ्नो परिवारलाई मासु खान दिनको लागि पनि मन्दिरमा चढाइएको बोका समेत चोरेर ल्याउने गरेको दृश्य देखाउने गर्दछ | यसरी देखाइने नाटकमा समाजमा भएको वर्ग विभाजनको दृश्य स्पष्ट संग देख्न सकिन्छ | दशैं सबैको घरमा आउने हुनाले पनि दशैं मनाउनै पर्ने हुन्छ | अब दशैं कसरी मनाउने भन्ने शिलशिलामा ठुला वर्गका हुने खाने व्यक्तिहरुकै नक्कल गर्ने गर्दछन | यसरी हुने खानेहरुले आफ्नो सम्पतिको आडमा रवाफ देखाउने हुनाले पनि दशैंको असली महत्व खस्किदैं गएको छ | हुने खानेको सिकोमा दशैं मान्ने गर्दा आफ्नो आम्दानीले धान्न नसके पछी ऋण लिएरै भए पनि रित पुर्याउनु पर्ने हुन्छ | सबै परिवारको आर्थिक हैसियत उस्तै हुँदैन | सबैले हरेक दिन राम्रो खाने अनि राम्रो लगाउने भन्ने हुँदैन | सायद यस्तै कारणले गर्दा पनि होला यसरी चाडबाडको बेलामा भए पनि आफ्नो बच्चा अनि श्रीमतीलाई राम्रो लुगा किनि दिने धोको राखदछन् | अरु बेलमा मसिनो खाएर भए पनि दशैंमा मिठो खानु पर्ने चलन भएको होला | तर यसरी देखा सिकीले गर्दा आर्थिकस्तर कम हुनेको लागि दशैं सधै दशाको रुपमा सिमित छ | अनि धनी हुने खानेको लागि सधै आफन्तको जमघट, हर्ष बढाईको रुपमा रहने गर्दछ |

यदि दशैंलाई दशैको मान्यतको रुपमा अघि बढाउन सकेको भए, यसरी रवाफ देखाउनमा मात्र सिमित रहने थिएन | दानाबमाथिको नारी शक्तिले प्राप्त गरेको विजयको रुपमा दशैंको असली मान्यतालाई अघि सार्नु पर्ने हुन्छ | अनि मात्र दशैंको मूल्य मान्यताले सार्थकता पाउने छ |

Comments