श्रावण महिना : हरियो चुरा, मेहेन्दी अनि ब्रत

मौसमी जादुले बर्षियको झरीले बनाएको हरियो को  रौनक  श्रावण महिनाको छुट्टै नै हुने गर्दछ | झन् त्यसमा बजार देखि लिएर महिला दिदि बहिनीको हातमा सजिएको हरियो चुरा अनि मेहेन्दीको सुगन्धले श्रावण महिनालाई प्रकृति संग प्रति बिम्बित गर्दछ | प्राकृतिक अनि भौतिक चिज बस्तु संगको मेल यस श्रावण महिनामा बेजोडले देखिने गरिन्छ | खेतमा आली काटेर रोपिएको धान अनि मनसुनले बनाएको हरियो रङ्गको आनन्द जति यो महिनामा हुन्छ त्यो बिरलै अरु कुनै महिनामा देख्न सकिन्छ |  प्रकृति अनि मानिसको सम्बन्धको के कुरा गर्नु , प्रकृतिमा नै  निर्भर छौं हामी, जस्तो प्रकृति त्यस्तै चाल चलन अनि संस्कृति हाम्रो बनेको छ | 

मानिस प्रकृतिमा कति निर्भर छन् अनि प्रकृतिलाई कसरी अँगालेको छ भन्ने कुरा यस महिनामा बिम्बको रुपमा हातमा हरियो चुरा अनि मेहेन्दीले बोल्ने गर्दछ | असार महिनामा  हिलोमा जति खेल्छौ हामी बर्ष भरिको अन्न फलाउन,  त्यहि मेहनतले हाम्रो हत्केलाको छाला उघारेको हुन्छ | र त्यहि छालाको स्याहार अनि सुसारको लागि मेहेन्दी लगाउने गर्छौं |  शुभ  अनि सहकाल ले बास गरोस् भन्ने प्रतिकको रुपमा हरियो चुरा लगाउने गरिन्छ | महिला दिदि बहिनी, चुरा अनि मेहेन्दीको के कुरा गर्ने  श्रावण महिना के आउन पाएको हुँदैन साज सज्जा अनि  सृंगारको बस्तु बन्न पुगेको छ | धार्मिक तथा सांस्कृतिक रुपमा हेर्ने हो भने यस महिनालाई पबित्र महिनाको रुपमा लिने गरिन्छ | यस महिनामा विशेष गरेर महादेवलाई पुज्ने गरिन्छ | सोमबार शिव भगवानलाई पुज्ने दिन भएको ले श्रावणको सोमबारको विशेष महत्व रहेको पाइन्छ | अझ पाँच वटा सोमबार परेको खण्डमा अझ बढी महत्वका साथ हेर्न गरिन्छ | यस महिनाको हरेको सोमबार ब्रत बस्ने गरिन्छ | धार्मिक किम्ब दन्ति अनुसार यस महिनामा देवी पार्वतीले, शिव पतिको रुपमा पाउने इच्छा राखेर ब्रत बसेकी हुनाले पनि विशेष महत्व राखेको देखिन्छ | त्यसै अनुरुप शिव जस्तै पति पाउने मनसायले यस महिनाको हरेक सोमबार दिदि बहिनिहरुले ब्रत बस्ने गर्दछ |  अर्को किम्बदन्ती अनुसार शिव भगवान यस महिना भरि अदृस्य रुपमा बसि अन्न पानी केहि ग्रहण नगरी गुप्तबास बस्ने भएकाले देवी पार्वतीले पनि त्यसै अनुरुप ब्रत बस्ने गरेको भनाइ पाइन्छ | यस महिनाको सोमवारबाट बोलबम पनि सुरु हुन्छ | गुप्तबास बसेको शिवलाई पानीको तृष्णाले ब्याकुल नबनाऔस भनेर बिभिन्न मुहान बाट तामाको कलशमा पानी भरि बोलबम मन्त्र जापी शिवलिंगमा चढाउने गरिन्छ |

शिवको महिना श्रावण भएको कारणले गर्दा यस महिनामा ब्रत बस्दा आफ्नो मनले इच्छाएको सबै प्राप्त हुने हुँदा बिभिन्न शिव मन्दिरमा सोमबारको दिन पुज्ने ब्रतालुको भिड लाग्ने गर्दछ | यस महिनामा माछा मासु खाने मान्छेले पनि ब्रत बसि फलाहार खाने गर्दछ | शिव भगवानले  प्रशन्न भइ आशिर्वाद दिन्छन भनेर शिवको मनपर्ने रङ्ग हरियो र पहेंलो रङ्गको चुरा मिलाएर लगाउने गरिन्छ | शिवलाई पुज्ने बेलामा बेलपत्र, धतुरो,  बेल इत्यति फल चढाउने गरिन्छ | श्रावण महिनाको विशेषतानै हरियो रङ्ग भएको कारणले गर्दा प्रकृति, धर्म अनि हाम्रो संस्कृति अनुरूप श्रव्यदृश्य बजारमा देख्न सकिन्छ | र यसरीनै हाम्रो जीवन अगाडी बढ्ने गर्दछ | प्रकृतिमा रम्नु अनि त्यहि अनुकुल संस्कृतिको विकास गर्नु हामी मानिसको गुण हो | 

मान्छेले बाँच्नको लागि प्रकृति अनुकुल आफ्नो बाच्ने कला जन्माएको हुन्छ | प्रकृतिको बिरुद्ध जानु भन्दा पनि प्रकृतिलाई आत्मसात गरेर त्यसलाई अपनाएर मात्र मान्छेले आफ्नो अस्तित्वको रक्षा गर्न सक्छ | प्रकृतिको बिरुद्ध गएर कुनै पनि कार्य गर्नु भनेको आफुलाई नै बिपतमा पार्नु हो | त्यसैले प्राकृतिक बासस्थान अनुसारको हाम्रो भेष भुषा, परम्परा अनि चाल चलन फरक फरक रहने गर्दछ | र यो श्रावण महिनामा गरिने हरेक क्रियाकलाप प्रकृति र मान्छे बिचको सम्बन्धको एक नमुना मात्र हो |

Comments